नेकपा (माओवादी)ले १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता, सबै प्रदेशमा संगठनात्मक शक्ति परीक्षण
कमल कुमार शाही
स्वभिमान खबर, माघ ७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लवले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा माघ ६ गते उम्मेदवारी दर्ता गराएको छ। पार्टीले हिमाल, पहाड र तराई समेट्दै सबै प्रदेशमा उम्मेदवार खडा गरेर निर्वाचनमार्फत आफ्नो राजनीतिक हैसियत परीक्षण गर्ने रणनीति अघि सारेको देखिएको छ। 
पार्टी केन्द्रीय स्रोतका अनुसार नेकपा (माओवादी)नेतृत्वको नेकपाले किरात–लिम्बुवान, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार दर्ता गराएको हो। सूचीअनुसार भोजपुर, पाँचथर, धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलामदेखि लिएर काठमाडौँ उपत्यका, बागमतीका जिल्लाहरू, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली जिल्ला र सुदूरपश्चिम प्रदेशका कैलाली,कञ्चनपुर , दार्चुला देखि डोटी अछाम बाजुरा सहित देशभरका सबै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
अनुभवीदेखि नयाँ अनुहारसम्म ।

उम्मेदवार सूचीमा पूर्व मन्त्री, राजनीतिक कार्यकर्ता, किसान, मजदुर, युवा नेता, पत्रकार, कलाकार शिक्षक, पूर्व विद्यार्थी नेता पुर्व जनमुक्ति सेना कमाण्डर तथा सिपाही वकिल सामाजिक अभियन्ता तथा विभिन्न आन्दोलनबाट आएका पात्रहरू समेटिएका छन्। कतिपय निर्वाचन क्षेत्रमा पार्टीले पुराना र परिचित अनुहारलाई निरन्तरता दिएको छ भने कालिकोट मा यस पार्टीका प्रवक्ता तथा पूर्व मन्त्री खडक बहादुर बिश्वकर्मा प्रकाण्ड १७ बर्ष पछि चुनावी मैदानमा उत्रिएका छन्। भने माओवादीले धेरै स्थानमा नयाँ र युवा उम्मेदवार अघि सारेर वैकल्पिक राजनीतिमा जोड दिएको देखिन्छ।
मधेश र बागमतीमा विशेष जोड ।
सूचीअनुसार मधेश प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरिएको छ। सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लामा पार्टीले उम्मेदवार खडा गरेको छ। त्यसैगरी बागमती प्रदेशमा काठमाडौँ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, चितवन लगायतका क्षेत्रमा पनि माओवादी पार्टी का उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
संसदीय राजनीतिमा पुनः सक्रियता
यस निर्वाचनलाई नेकपा (माओवादी) विप्लवले संसदीय राजनीतिमा सहभागी हुनुलाई एकीकृत जनक्रान्तिको संघर्ष को मोर्चाको रूपमा लिएको छ। लामो समय सशस्त्र संघर्ष र भूमिगत गतिविधिपछि खुला राजनीतिमा आएको पार्टीले निर्वाचनलाई जनसमर्थन मापन गर्ने अवसरका रूपमा व्याख्या गरेको छ।
पार्टीका नेताहरूले राष्ट्रिय स्वाधीनता, समाजवादी रूपान्तरण, भ्रष्टाचारविरुद्ध संघर्ष, श्रमिक–किसानको अधिकार र संघीयताको पुनर्संरचना जस्ता मुद्दालाई चुनावी एजेन्डा बनाएको बताएका छन्।


चुनावी परिणामप्रति चासो
१६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउनु स्वयंमा नेकपा माओवादी पार्टीका लागि ठूलो राजनीतिक सन्देश मानिएको छ। सीमित संगठनात्मक पहुँच भएको मानिँदै आएको पार्टीले यति ठूलो संख्यामा उम्मेदवार उठाएपछि यसको मतपरिणामले पार्टीको वास्तविक जनाधार कति छ भन्ने स्पष्ट पार्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माओवादी) विप्लवको यो सहभागिताले वैकल्पिक वाम राजनीतिमा नयाँ बहस र प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।
प्रतिनिधि सभा उमेदवार दर्ताको नामावली















प्रतिक्रिया दिनुहोस्