२०८२ चैत्र १९ गते बिहिवार

मुस्ताङको पहाड अब हलिउडको पर्दामा: ‘टासी’को सुटिङ सुरु



मुस्ताङको पहाड अब हलिउडको पर्दामा: ‘टासी’को सुटिङ सुरु

कमल कुमार शाही

स्वाभिमान खबर ,जेठ १०

मुस्ताङ – हलिउड फिल्म ‘टासी’को छायांकन सोमबारदेखि मुस्ताङमा सुरु भएको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथा पहिलोपटक आरोहण गरेका तेन्जिङ नोर्गे शेर्पाको जीवन कथामा आधारित यो फिल्म अमेरिकी प्रविधि कम्पनी एप्पलले निर्माण गरिरहेको हो।

फिल्मको छायांकन मुस्ताङका विभिन्न रमणीय स्थानहरूमा भइरहेको छ। जोमसोम, पुथाङ, थासाङको बोक्सी खोला, पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान, लुप्रापासलगायत क्षेत्रहरूमा छायांकनको योजना रहेको स्थानीय संयोजक पाल्गेन गुरुङले जानकारी दिए।

अहिलेसम्मकै सबैभन्दा ठूलो लगानीमा बन्न लागेको भनिएको यस फिल्मको टोलीमा हलिउड, बलिउड र नेपाली प्राविधिक तथा कर्मचारी गरेर तीन–चार सयजना सक्रिय छन्। डेढ सयभन्दा बढी सवारी साधन सहित फिल्म टोली मुस्ताङमा पुगेको छ। यिनमा शौचालय, बाथरुम, किचन र सुत्ने व्यवस्था समेत भएको जनाइएको छ।

मुस्ताङमा सडक विस्तार र सुविधायुक्त होटल तथा रिसोर्ट सञ्चालनमा आएपछि यति ठूलो फिल्म टोली आउन सम्भव भएको गुरुङ बताउँछन्। फिल्म छायांकनले स्थानीयहरूलाई रोजगारी दिएको छ भने होटल तथा रेष्टुरेन्ट व्यवसायमा चहलपहल बढेको छ।

फिल्म ‘टासी’लाई नेपालमा छायांकन गर्न अनुमति पाउन पनि निकै समय लागेको थियो। निर्माण पक्षले माघ महिनामा निवेदन दिएको भए पनि करिब ७८ दिनपछि मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त भएको हो। प्रक्रियागत झन्झटका कारण अन्तिम समयमा मात्र अनुमति पाउँदा निर्माण टोलीले काम समयमा सम्पन्न गर्न चुनौती महसुस गरिरहेको छ।

फिल्ममा थमस हिडल्स्टन र गेन्डेन फुन्टसोकको अभिनय रहनेछ भने निर्देशन जेनिफर पीडोमले गरेकी छन्। ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’ बनाउने कम्पनी सी-स फिल्म्सले यस फिल्मको निर्माण गरिरहेको छ।

फिल्मको छायांकन काठमाडौं, मुस्ताङ, जोमसोम, बन्दीपुर, तनहुँ र सोलुखुम्बुजस्ता ठाउँमा हुनेछ। अन्तर्राष्ट्रिय बजारका लागि निर्माण भइरहेको यो फिल्मले नेपाल र विशेषगरी मुस्ताङको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शनिवार