२०८३ जेष्ठ १४ गते बिहिवार

सुर्खेतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ९औं साधारण सभा सम्पन्न, कविराज गिरी सर्वसम्मत अध्यक्ष निर्वाचित



सुर्खेतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ९औं साधारण सभा सम्पन्न, कविराज गिरी सर्वसम्मत अध्यक्ष निर्वाचित
कमल कुमार शाही
स्वाभिमान खबर , कात्तिक २२
सुर्खेत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेत शाखाको ९औं साधारण सभा सम्पन्न भएको छ । सभाबाट कविराज गिरी सर्वसम्मत रूपमा शाखाको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
कार्यक्रममा नयाँ कार्यसमिति गठन गर्दै २१ सदस्यीय नेतृत्व चयन गरिएको हो । सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका गिरीसहित सम्पूर्ण कार्यसमितिलाई प्रतिष्ठानका केन्द्रीय मानार्थ सदस्य हरि बिष्टले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
मानार्थ सदस्य बिष्टले शुभकामना मन्तव्य दिँदै भने, “लोक तथा दोहोरी गीत हाम्रो मौलिक पहिचान हो । सुर्खेत शाखाले यसलाई संरक्षण र प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नयाँ नेतृत्वले यस अभियानलाई अझ सशक्त बनाउने विश्वास लिएको छु ।”
कार्यक्रममा सुर्खेत शाखाका पदाधिकारी, सल्लाहकार, स्थानीय कलाकार, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा स्थानीय सांस्कृतिक प्रस्तुति, दोहोरी गीत र सम्मान कार्यक्रम पनि गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष कविराज गिरीले आफ्नो कार्यकालमा लोक तथा दोहोरी गीतको संरक्षण, स्थानीय कलाकारको क्षमता अभिवृद्धि, र सांगीतिक कार्यक्रमहरूको नियमित आयोजनामा प्राथमिकता दिने बताएका छन् ।
सुर्खेत शाखाको यस नयाँ कार्यसमितिमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र अन्य सदस्यहरू गरी २१ जना रहेका छन् । प्रतिष्ठानले निकट भविष्यमा जिल्लास्तरीय सांगीतिक महोत्सव गर्ने तयारी समेत गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते शनिवार