‘मुख्यमन्त्रीको लाजमर्दो शैलीले कर्णाली सरकार गतिविहीन’: पूर्व मुख्यमन्त्री शर्माको आरोप
कमल कुमार शाही ,
स्वाभिमान खबर , बैशाख २८
सुर्खेत, कर्णाली प्रदेश सरकारमाथि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का नेता तथा पुर्व मुख्यमन्त्री जीवन शर्मालेले कडा आलोचना गरेका छन् । आइतबारदेखि प्रारम्भ भएको प्रदेश सभा बैठकमा विपक्षी दलका नेता शर्माले सरकार सञ्चालनको शैलीप्रति असन्तोष व्यक्त गर्दै मुख्यमन्त्रीको नेतृत्वप्रति प्रश्न उठाएका हुन्।
शर्माले प्रदेश सरकारलाई “गतिविहीन” र “लाजमर्दो शैलीको शासकत्व”को संज्ञा दिँदै लामो समयदेखि रिक्त रहेको प्रदेश खेलकुद विकास परिषद्को नेतृत्व तोक्न नसक्नु सरकारको अकर्मण्यताको स्पष्ट उदाहरण भएको बताए। “मुख्यमन्त्रीले लाजमर्दो किन गरिरहनुभएको?” शर्माले प्रश्न गरे, “एउटा सदस्य सचिव पनि नियुक्त गर्न नसक्ने सरकारले अरू के गर्न सक्छ?”
०८१ पुसदेखि पदाधिकारी विहीन रहेको खेलकुद परिषद्को नेतृत्व अभावले ठेकदारलाई भुक्तानी दिन समस्या भएको र काम समयमा सम्पन्न नहुँदा प्रादेशिक रंगशालाको भविष्य अन्योलमा परेको शर्माको भनाइ छ।
त्यसैगरी, शर्माले मुख्यमन्त्री कँडेलको ‘योजना बैंक’ र ‘आयोजना छनोट कार्यविधि’माथि समेत कटाक्ष गर्दै भने, “कागजमा जे लेखिए पनि व्यवहारमा झ्यालबाटै योजना आउने पुरानै प्रवृत्ति दोहोरिएको छ। डोका भन्दा पोका ठूला ल्याएर ठूलो कुरा गरिएको देखिन्छ।”
शर्माले सरकारको समन्वयहीन कार्यशैलीकै कारण ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को नारा व्यवहारमा असफल हुन लागेको दाबी गरे। “मुख्यमन्त्रीबाट जुन अपेक्षा गरिएको थियो, त्यो ध्वस्त भएको छ,” शर्माले निष्कर्ष सुनाए।













प्रतिक्रिया दिनुहोस्