विद्या भण्डारीको पुनरागमन : एमाले राजनीतिमा सक्रिय सहभागिताको घोषणा
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर काठमाडौं, असार १४ –
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले झण्डै एक दशकपछि पुनः सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी छन्। शनिबार काठमाडौंमा आयोजित ‘जबजका तीन दशक’ शीर्षकको राष्ट्रिय गोष्ठीमा उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सक्रिय राजनीतिमा पुनः संलग्न हुने औपचारिक घोषणा गरेकी हुन्।
उक्त कार्यक्रम जननेता मदनकुमार भण्डारीको ७४औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको हो। कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले पार्टीको सदस्यता नवीकरण गरिसकेको जानकारी दिइन्। उनले भनेकी थिइन्, “देश र जनताको लागि मैलो गर्नुपर्ने अझै धेरै काम बाँकी छ, त्यसैले म फेरि पार्टीमा सक्रिय हुने निर्णयमा पुगेकी हुँ।”
उनको घोषणापछि कार्यक्रममा उपस्थित एमाले कार्यकर्ताहरूले जोशपूर्ण हुटिङ गरी स्वागत गरेका थिए। भण्डारीले आफूमा कुनै विशिष्ट पदको आकांक्षा नरहेको स्पष्ट पार्दै जनताको सेवा र पार्टीको सिद्धान्तप्रति समर्पण रहने बताइन्।
राष्ट्रपति पदबाट निवृत्त भइसकेपछि लामो समयदेखि राजनीतिबाट टाढा रहेकी भण्डारीको पुनरागमन एमालेका लागि नयाँ ऊर्जा र सन्देशका रूपमा हेरिएको छ। विशेषतः ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सन्दर्भमा यो घोषणाले नयाँ बहस र उर्जा थपेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न नेता तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।













प्रतिक्रिया दिनुहोस्