२०८३ साउन १५ गते शुक्रवार

बेलायतबाट फर्किएर ‘जीवनदाता’ बने – डा. पुकारचन्द्र , श्रेष्ठले नेपालमै गराए विश्वमै दुर्लभ अंग प्रत्यारोपण



बेलायतबाट फर्किएर ‘जीवनदाता’ बने – डा. पुकारचन्द्र , श्रेष्ठले नेपालमै गराए विश्वमै दुर्लभ अंग प्रत्यारोपण

कमल कुमार शाही
स्वाभिमान खबर काठमाडौं, असार १४।

नेपालमै मिर्गौला र कलेजो प्रत्यारोपण जस्ता अत्याधुनिक र जटिल सेवा सम्भव बनाउने डाक्टर पुकारचन्द्र श्रेष्ठले देशमै बसेर जीवन बाँचाउने इतिहास रच्नुभएको छ।
बेलायतमा अध्ययन र अनुभव बटुलेका डा. श्रेष्ठले विदेशमै बस्न सक्ने अवसर हुँदाहुँदै पनि नेपाल फर्केर शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमार्फत सेवा दिँदै आउनुभएको छ।

उहाँको अगुवाइमा अहिले नेपालमा मिर्गौला र कलेजो प्रत्यारोपण नियमित रूपमा हुँदै आएको छ। “साथीभाइले बेलायत छाडेर नेपाल किन फर्केको भनेर प्रश्न गर्थे,” उहाँ भन्नुहुन्छ, “तर जब मेरो आँखा अगाडि भर्खरका युवायुवतीले समयमै उपचार नपाएर ज्यान गुमाएका दृश्य देखेँ, म चुप बस्न सकिनँ। त्यसैले हामीले यहीँ प्रत्यारोपण सेवा सुरु गर्‍यौं।”

नेपालमा पहिलो पटक सन् २००८ मा मिर्गौला प्रत्यारोपण सुरु भयो भने २०१३ मा प्रत्यारोपण केन्द्रको स्थापना गरिएको हो।
डा. श्रेष्ठका अनुसार सन् २०१९ मा ‘मस्तिष्क मृत्यु’ भएका व्यक्तिबाट कलेजो प्रत्यारोपण गर्न सफल भएका थिए। त्यस्तै, सन् २०२५ मा पहिलो पटक एकै व्यक्तिबाट मिर्गौला र कलेजो एकैसाथ निकालेर दुई जनामा प्रत्यारोपण गरिएको थियो।

उक्त सफल प्रत्यारोपणमा सवारी दुर्घटनामा घाइते भई उपचारका क्रममा ‘ब्रेन डेथ’ घोषित १८ वर्षीय युवकको अंग प्रयोग गरिएको थियो। ती युवकका एक मिर्गौला र कलेजो एक पुरुषमा र अर्को मिर्गौला ४२ वर्षीया महिलामा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो।

डा. श्रेष्ठ हाल शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक हुनुहुन्छ। उहाँको नेतृत्वमा नेपालमा अंग प्रत्यारोपणको क्षेत्रमा भएको प्रगति विश्वस्तरमै उदाहरणीय बन्न थालेको छ।

देशमै बसेर जीवन बचाउने कामलाई मिशनका रूपमा अघि बढाइरहेका डा. श्रेष्ठलाई धेरैले ‘भगवानरुपी डाक्टर’ भन्न थालेका छन्।

प्रकाशित मिति : २०८२ असार १४ गते शनिवार