विद्यालयमै विद्यार्थीलाई प्रधानाध्यापकसहितको सामूहिक कुटपिट: विद्यार्थी गम्भीर घाइते, अभिभावक आक्रोशित
बझाङ, असार ३१ – स्वाभिमान खबर
बझाङको दुर्गाथली गाउँपालिका–६ स्थित सूर्यदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी अनिल धामीमाथि विद्यालयका प्रधानाध्यापकसहितका शिक्षकहरूले सामूहिकरूपमा कुटपिट गरेका छन्।
मंगलबार बिहानको प्रार्थना समयका बेला “कपाल लामो भएको” निहुँमा विद्यार्थी अनिलमाथि पाइप र कैँची प्रयोग गरी कुटपिट गरिएको पीडितका दाजु दिपेन्द्र धामीले बताएका छन्। उनले भने, “कपालकै कारण भाइलाई अफिसमा लगेर पाइपले हानियो, जबरजस्ती कपाल काटियो। भाग्न सफल नभएको भए झन ठूलो क्षति हुन सक्थ्यो।”
👇 तस्बिर:
पाइपले हानेर बनेको घाउ

अनिल अनुशासित विद्यार्थी हुन्, उनी कक्षा टिम लिडर पनि थिए। उनी घरबाट दुई घण्टा हिँडेर विद्यालय पुग्ने गर्थे। यस्तो घटनाले विद्यालयमा सुरक्षित वातावरण कस्तो छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ।
घटनाबारे प्रतिक्रिया दिँदै प्रधानाध्यापक विजय जाग्रीले कुटपिटको आरोप अस्वीकार गरेका छन्। “बिहानको प्रार्थनामा सामान्य सम्झाएको मात्र हो,” उनले भने। तर अनिलको शरीरमा देखिएका चोटका तस्बिरहरूले शिक्षकहरूको अमानवीय व्यवहार पुष्टि गरिरहेको छ।
पीडित अनिललाई हाल दुर्गाथली–२ स्थित चौधारीमा उपचारका लागि लगिएको छ।
शिक्षालयभित्र शिक्षकबाट विद्यार्थीमाथि हिंसा भएको घटनाले अभिभावक र स्थानीयहरू आक्रोशित बनेका छन्। उनीहरूले दोषीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन्। अभिभावकहरूले भने, “विद्यालय शिक्षाको मन्दिर हो, यहाँ हिंसा होइन, अनुशासन र सदाचार सिकाइनुपर्छ।”













प्रतिक्रिया दिनुहोस्