एडमन्ड शाही रामघाट ट्रक दुर्घटना : मालिक सम्पर्कमा नआएपछि पीडित पक्ष सडकमा, थप आन्दोलनको चेतावनी
कमल कुमार शाही
स्वाभिमान खबर असाेज ९, सुर्खेत
सुर्खेत–सुर्खेत जुम्ला कर्णाली राजमार्ग सडकखण्ड अन्तर्गत रामघाट पुल नजिक भएको ट्रक दुर्घटनापछि मृतक परिवारले न्यायको माग गर्दै सुर्खेतमा चक्काजाम गरेका छन्।
बुधबार साँझ करिब ४ बजे कालिकोट खाणाचक्र नगरपालिका–११ का एडमन्ड शाही लाई सुर्खेततर्फबाट कालिकोट जाँदै गरेको कर्णाली प्रदेश ०२–००१–ख–०२७५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको सडक दुर्घटनामा भएको थियोे । गम्भीर घाइते भएका शाहीलाई तत्कालै कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका आफन्त संन्देश शाहीले जनाएका छन् ।
दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि ट्रक मालिक सम्पर्कमा नआएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका छन्। शव व्यवस्थापनमा कुनै पहल नभएको र न्याय पाउन ढिलाइ भएको कारण बिहीबार बेलुका १ घण्टा पीडित पक्षले सुर्खेतको यरिचोक क्षेत्रमा सडक अवरुद्ध गर्दै चक्काजाम गरेका छन् ।
मृतकका आफन्तहरूले तत्कालै ट्रक मालिक सम्पर्कमा आउनुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। माग पूरा नभए थप कठोर आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन्।
प्रहरीले भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र पीडितलाई न्याय दिलाउन प्रक्रिया अघि बढाइने आश्वासन दिएको छ।













प्रतिक्रिया दिनुहोस्