टाटागाउँकी देविका बुढाथोकीको बिभत्स हत्या : मानवअधिकार उल्लंघनको जघन्य घटना, दोषी पक्राउ, २३ संघसंस्थाको कडा प्रतिवाद
गाेविन्द बहादुर रावत
स्वाभिमान खबर , असार २५ सुर्खेत
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ टाटागाउँकी ३० वर्षीया देविका बुढाथोकीको आफ्नै श्रीमान् चन्दबहादुर बुढाथोकीबाट अत्यन्तै क्रूर र अमानवीय ढंगले हत्या गरिएको घटनाले गम्भीर मानवअधिकार उल्लंघनको रूप लिएको भन्दै प्रदेशभरका २३ संघसंस्थाहरूले संयुक्त रूपमा कडा विरोध जनाएका छन्।
असार १७ गते राति करिब १० बजे घरायसी विवादका क्रममा चन्दबहादुरले आफ्नी पत्नी देविकालाई छोराछोरीकै अगाडि लछारपछार गर्दै खेततिर लगेर दुबै हात धारिलो हतियारले काटेपछि घाँटी रेटी हत्या गरेका थिए। हाल घटनामा संलग्न चन्दबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
यो घटना केवल एक घरेलु हिंसाको केस नभई राज्यले सुनिश्चित गरेको मानवअधिकार, महिला अधिकार र जीवन रक्षाको संवैधानिक अधिकारको खुला उल्लंघन भएको भन्दै संयुक्त विज्ञप्तिमा घोर आपत्ति जनाइएको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ,
“शान्तिपूर्ण र सुरक्षित जीवन बाँच्ने हक नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार हो। तर, यस्ता घटनाले ती अधिकारहरू केवल कागजमै सीमित भएको सावित गरिरहेका छन्। यस्तो जघन्य अमानवीय व्यवहार मानवअधिकार उल्लंघनको चरम सीमा हो।”
संघसंस्थाहरूले दोषीलाई उन्मुक्ति दिन खोजिएमा त्यसले अझै हिंसा बढाउने चेतावनी दिँदै, न्यायिक प्रक्रिया छिटो, प्रभावकारी र पीडकमुखी बनाउन राज्य संयन्त्रलाई आग्रह गरेका छन्।
विज्ञप्तिमा मृतकका छोराछोरीको मनोसामाजिक अवस्था, सुरक्षाको प्रत्याभूति र संरक्षणको आवश्यकता औंल्याउँदै भनिएको छ, “यस्ता घटनामा पीडित बालबालिकालाई अझै ठूलो पीडा थपिन्छ। त्यसैले उनीहरूको तत्काल मनोपरामर्श, पुनःस्थापना र संरक्षणको व्यवस्था हुनु जरुरी छ।”
संयुक्त रूपमा आवाज उठाउने संघसंस्थाहरूमा बाल विवाह विरुद्धको साझा अभियान, मानव अधिकार एलायन्स, इन्सेक, नवज्योति केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल, फेडो, आवाज, टिम हेल्प सुन्दर नेपाल ,इन्देणी आवाज लगायत रहेका छन्।
संस्थाहरूले यस घटनालाई उदाहरणीय कारबाहीद्वारा न्याय सुनिश्चित गर्दै, देशभर बढ्दो महिला हिंसा, पारिवारिक अत्याचार र मानवअधिकार उल्लंघनविरुद्ध दीर्घकालीन रणनीति ल्याउन सरकारसँग माग गरेका छन्।
विज्ञप्ति














प्रतिक्रिया दिनुहोस्