अछामका युवा संघका केन्द्रीय सदस्यद्वारा घाइतेको उद्धार
कमल कुमार शाही
स्वाभिमान खबर, चैत १४
काठमाडौँ, । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा राजधानीमा उत्रिएका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गर्दा तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रदर्शनका क्रममा घाइते भएका कार्यकर्तामध्ये एकको अछामका युवा संघका केन्द्रीय सदस्यले उद्धार गरेका छन्।
माइतीघर–बबरमहल क्षेत्रमा जारी प्रदर्शनका क्रममा एक समूह सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढेपछि स्थिति झन् चर्किएको थियो। सोही क्रममा प्रहरीले लाठी चार्ज गर्दा केही नेता तथा कार्यकर्ता घाइते भएका छन्।
घटनामा युवराज ओली गम्भीर घाइते भएका छन्। उनकाे टाउकोमा लाठी प्रहार भएपछि तत्कालै अछामका युवा संघका केन्द्रीय सदस्यको सक्रियतामा उनलाई नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको जनाइएको छ।
प्रदर्शनमा सहभागी रामेश्वर फुयाल ले आफूहरूमाथि प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको आरोप लगाए। उनका अनुसार शान्तिपूर्ण प्रदर्शनका बीच अचानक बल प्रयोग हुँदा स्थिति नियन्त्रणबाहिर गएको हो।
घाइतेहरूको अवस्था बुझ्न र थप उपचारको व्यवस्था गर्न पार्टीका विभिन्न तहका नेताहरू अस्पताल पुग्ने क्रम जारी रहेको छ। घटनापछि क्षेत्रको सुरक्षा अवस्था कडा बनाइएको छ भने प्रदर्शनकारी र प्रहरीबीचको तनाव अझै कायम रहेको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्