२०८३ साउन १५ गते शुक्रवार

एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड



एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड

कमल कुमार शाही
स्वाभिमान खबर काठमाडौं, असार १३ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत परीक्षा नियन्त्रण कार्यालयका प्रमुख अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्नुभएको हो।

एसईई परीक्षा २०८१ मा देशभरबाट झण्डै ५ लाख २८ हजार विद्यार्थी सहभागी भएका थिए। तीमध्ये करिब ६२ प्रतिशत विद्यार्थी मात्र ग्रेड प्राप्त गरी अगामी कक्षा ११ मा जान योग्य ठहरिएका छन् भने बाँकी विद्यार्थी ग्रेडहीन भएका छन्।

यस वर्षको एसईई नतिजामा अपेक्षा गरेअनुसारको सुधार देखिन नसकेको परीक्षा बोर्डले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार केही विद्यार्थी पूर्ण ग्रेडसहित उत्तीर्ण भए पनि धेरै विद्यार्थी न्यूनतम ग्रेडसमेत प्राप्त गर्न असफल भएका छन्।

परीक्षा नियन्त्रण कार्यालयले यसपटक पनि ग्रेडिङ प्रणालीअन्तर्गतै नतिजा सार्वजनिक गरेको छ। जीपीए ४ अंकमा आधारित ग्रेडिङ प्रणाली अनुसार विद्यार्थीहरुको नतिजा प्रकाशित गरिएको हो।

नतिजा सार्वजनिक भएसँगै विद्यार्थी र अभिभावकहरु मोबाइल, वेबसाइट र एसएमएसमार्फत आफ्नो नतिजा हेर्न व्यस्त देखिएका छन्।

यसअघि परीक्षा चैत १५ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको थियो।

नतिजा हेर्ने तरिका:
विद्यार्थीहरुले www.see.gov.np, www.neb.gov.np लगायतका वेबसाइट तथा एनटिसीको एसएमएस तथा IVR प्रणालीमार्फत पनि नतिजा हेर्न सक्ने छन्।

परीक्षा बोर्डको भनाइ:
परीक्षा नियन्त्रण प्रमुख रायमाझीका अनुसार नतिजा प्रकाशन प्रक्रियामा उच्च सावधानी अपनाइएको थियो। त्रुटिहीन नतिजा सार्वजनिक गर्न बोर्डले अधिकतम प्रयत्न गरेको दाबी उहाँले गर्नुभयो।

यस वर्षको नतिजाले फेरि पनि माध्यमिक शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको सन्देश दिएको छ। कमजोर नतिजाले शिक्षाप्रणालीमा पुनर्विचार गर्नुपर्ने खाँचो देखिएको छ।

प्रकाशित मिति : २०८२ असार १४ गते शनिवार