राजावादी आन्दोलनको हिंसात्मक गतिविधिप्रति नेपाल समाजवादी पार्टीको भर्त्सना
स्वाभिमान खबर
देपेन्द्र बहादुर शाही काठमाडौं, चैत्र १५
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आज राजावादी समूहद्वारा आयोजित आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कडा भर्त्सना गरेको छ।
पार्टीद्वारा जारी विज्ञप्तिमा सर्वसाधारण जनताको निजी सम्पत्तिमा तोडफोड, व्यापारिक केन्द्रहरू, राजनीतिक दलका कार्यालयहरू, सञ्चार गृहहरू, यातायातका साधन तथा सार्वजनिक सम्पत्तिहरूमा तोडफोड, लुटपाट, आगजनी, उच्छृंखल प्रदर्शन तथा आपराधिक गतिविधिहरू अत्यन्त निन्दनीय रहेको उल्लेख छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, हिंसात्मक गतिविधिका क्रममा टेलिभिजन पत्रकार सुरेश रञ्जितको हत्या भएको र काठमाडौँका विभिन्न स्थानमा आगजनी तथा तोडफोड भएको खबर प्राप्त भएको छ।
नेपाल समाजवादी पार्टीले यस्ता गतिविधिहरू लोकतन्त्र विरोधी, आपराधिक तथा अस्वीकार्य रहेको भन्दै कडा विरोध जनाएको छ। साथै, सरकारले यस्ता विध्वंसात्मक गतिविधिहरू नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने माग पनि पार्टीले गरेको छ।
पार्टीका प्रवक्ता कृष्ण शर्मा द्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक शक्तिहरूलाई हिंसात्मक गतिविधिहरूको एकजुट भएर प्रतिकार गर्न आह्वान गरिएको छ।













प्रतिक्रिया दिनुहोस्