भजनीमा फरार अभियुक्तमाथि प्रहरीको गोली प्रहार, घाइते अवस्थामा उपचार भइरहेको
कमल कुमार शाही
स्वाभिमान खबर
धनगढी, जेठ २९ । कैलालीको भजनी नगरपालिका–७ मा बिहीबार दिउँसो फरार रहेका दुई अभियुक्तमाथि प्रहरीले गोली प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले घटनाको पुष्टि गरेका छन्।
प्रहरीका अनुसार जेठ १५ गते टीकापुरमा स्थानीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार गर्ने घटनामा संलग्न रहेको आशंकामा कैलारी गाउँपालिका–२, शिवरत्नपुरबाट दुई जना युवकलाई पक्राउ गरिएको थियो। तर भजनी क्षेत्रमा लैजाँदै गर्दा उनीहरू भाग्न खोजेपछि प्रहरीलाई बल प्रयोग गर्नुपरेको डीएसपी सिंहले जानकारी दिए।
‘भाग्न खोजेपछि प्रहरीलाई दुई राउण्ड हवाई फायर र दुई गोली प्रहार गर्नुपर्यो,’ डीएसपी सिंहले भने, ‘प्रहरीको गोलीबाट दुबै अभियुक्त घाइते भएका छन्।’
गोली लागेर घाइते हुनेहरूमा टीकापुर नगरपालिका निवासी रिदम ढुङ्गाना र मिलन चन्द रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई गोली घुँडामुनि लागेको छ भने हाल सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। टीकापुरको खुकुरी प्रहार घटना अपराधजन्य क्रियाकलाप अन्तर्गत दर्ता गरिएको हो। घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य पनि तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।













प्रतिक्रिया दिनुहोस्