मध्यपश्चिम विश्वविद्यालयमा अपाङ्गता दिवस भव्य रूपमा सम्पन्न, ‘सबैका लागि शिक्षा’ कार्यान्वयनको प्रतिवद्धता दोहोर्याइयो ‘
कमल कुमार शाही
स्वाभिमान खबर मंसिर १७
सुर्खेत, अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस मध्यपश्चिम विश्वविद्यालयले यस वर्ष विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। ग्र्याजुएट स्कुल अफ एजुकेसन अन्तर्गत विशेष आवश्यकता शिक्षा केन्द्रीय विभागको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आयोजना भएको कार्यक्रममा समावेशी शिक्षा, पहुँचयोग्य वातावरण र अपाङ्गता सम्बन्धी जनचेतनाका मुद्दामा गहिरो अन्तरक्रिया भएको सहभागीहरूको भनाइ छ।
कार्यक्रमका प्रमुख अतिथि तथा विश्वविद्यालयका योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. बिष्णुकुमार खड्काले विश्वविद्यालयमा स्नातक तहको विशेष आवश्यकता शिक्षा कार्यक्रम सुरु गर्दा भोगिएको संघर्ष र निर्माण गरिएका उपलब्धिहरू स्मरण गर्दै ‘‘सवैका लागि शिक्षा’’ भन्ने नाराले मात्र पर्याप्त नहुने बताए।
उहाँले शैक्षिक संरचना, पाठ्यक्रम, पाठ्यसामग्रीदेखि सिकाइ–मूल्यांकन प्रणालीसम्मलाई अपांगतामैत्री बनाउन सके मात्रै समावेशी शिक्षाको लक्ष्य सम्भव हुने स्पष्ट पार्नुभयो।

कार्यक्रममा शारीरिक अशक्तता हुँदाहुँदै पनि मानसिक रूपमा सशक्त प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिने त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख उपप्राध्यापक राजनकुमार कँडेलले अपाङ्गता जीवनको जुनसुकै क्षणमा हुन सक्ने भएकाले समाजले माया, अवसर र सम्मान प्रदान गर्न सके अपाङ्गता भएका व्यक्तिहरू पनि समान हैसियतमा काम गर्न सक्षम हुने धारणा राख्नुभयो।
त्यसैगरी दृष्टिविहिन विद्यार्थीहरू प्रयोग गर्ने सेतो छडी र ब्रेल सेटको व्यवहारिक प्रयोगबारे सुर्खेतस्थित संस्कृत तथा साधारण मा.वि. इत्रामका शिक्षक तारा ढकालले प्राविधिक प्रस्तुति दिनुभयो।
कार्यक्रम विभागीय प्रमुख प्रतिभा खड्काको अध्यक्षता र शिक्षक राजु आचार्यको संयोजनमा सञ्चालन गरिएको थियो। विशेष आवश्यकता शिक्षा विषय अध्ययनरत विद्यार्थीहरूले ह्वीलचेयर प्रयोग, ब्रेल लेखन, हियरिङ एड लगायतका सामग्रीको प्रायोगिक प्रदर्शनसमेत गरेका थिए, जसले कक्षाभित्र सिकाइ र वास्तविक जीवनका आवश्यकता बीचको अन्तरलाई नजिक ल्याएको बताइएको छ।
विभिन्न विभागका प्रमुख, प्राध्यापक, विद्यार्थीहरूको व्यापक सहभागिता रहेको कार्यक्रममा समावेशी शिक्षा, अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार, पहुँचयोग्य भौतिक पूर्वाधार र विश्वविद्यालय तहमा अपांगतामैत्री नीतिको आवश्यकता विषयमा खुला छलफल भयो। सहभागीहरूले यस्तो कार्यक्रमले विश्वविद्यालय परिसरमै अपाङ्गता अधिकारबारे सकारात्मक वातावरण निर्माण भएको प्रतिक्रिया दिए।
विभागीय प्रमुख प्रतिभा खड्काले प्रमुख अतिथि डा. खड्का सहायक डीन भएदेखि हालसम्म विशेष आवश्यकता शिक्षा कार्यक्रम स्थापनामा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गर्दै, ‘‘आज पाँचौँ सेमेष्टरमा विद्यार्थी संख्या एक सय पुग्नु यस कार्यक्रमको प्रभावकारिता र आवश्यकता प्रस्ट्याउने प्रमाण हो’’ भन्नुभयो।
एक दिवसीय कार्यक्रमले विश्वविद्यालय समुदायलाई समावेशी शिक्षाको मार्गचित्र थप स्पष्ट बनाएको आयोजकको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्