४ पटक प्रधानपञ्च भएका प्रधानको निधन, गाउँ शोकमा
कमल कुमार शाही
स्वाभिमान खबर, पुष ११
अछाम । पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका अग्रज समाजसेवी, अनुभवी जनप्रतिनिधि र गाउँका अभिभावकका रूपमा सम्मानित जक्ति बहादुर शाही अब हामीबीच रहनु भएन। चार पटक प्रधानपञ्च र एक पटक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका शाहीको ९१ वर्षको उमेरमा २०८२ साल पुस ११ गते निधन भएपछि पूरै गाउँ शोकमा डुबेको छ।
जीवनभर समाज र गाउँको सेवामा समर्पित शाही केवल राजनीतिक नेता मात्र होइन, दुःख–सुखमा सबैका सहारा, मेलमिलापका प्रतीक र विकासका अग्रदूत हुनुहुन्थ्यो। उहाँको बोलीमा सरलता, व्यवहारमा आत्मीयता र निर्णयमा दूरदर्शिता झल्किन्थ्यो। गाउँका हरेक सुखदुःखमा उहाँ अगाडि उभिनुहुन्थ्यो।
नेपाली काँग्रेस पार्टीबाट निर्वाचित भई साविक वारला गाउँ विकास समितिको नेतृत्व गरेका शाहीले सडक, खानेपानी, शिक्षा र सामाजिक एकताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो। राजनीतिक मतभेदभन्दा माथि उठेर गाउँको साझा हितका लागि काम गर्नु उहाँको जीवन दर्शन थियो।
उहाँको निधनको खबर फैलिनासाथ गाउँमा शोकको छायाँ छाएको छ। घर–घरमा मौनता छ, आँखामा आँसु र मनमा अपूरणीय क्षतिको पीडा छ। “हामीले नेता होइन, आफ्नै अभिभावक गुमाएका छौँ,” स्थानीयवासी भावुक हुँदै भन्छन्।
दिवंगत शाहीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आज बिहानैदेखि स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, सामाजिक अगुवा र सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको छ। उहाँको आजै कर्णाली नदीको तालागाडमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
गाउँको विकास र सामाजिक सद्भावको इतिहासमा अमिट छाप छोड्नुभएका जक्ति बहादुर शाहीको स्मृति सधैँ गाउँलेको मनमा जीवित रहनेछ।
स्वाभिमान खबर परिवार दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ।













प्रतिक्रिया दिनुहोस्