प्रधानमन्त्री शाहद्वारा पाँच विश्वविद्यालयका उपकुलपति नियुक्त
कमल कुमार शाही
स्वाभिमान खबर, असार १९
काठमाडौं । प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री शाहले देशका पाँच विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन्।
शुक्रबार गरिएको नियुक्तिअनुसार राजन सुवाललाई मध्यपश्चिम विश्वविद्यालय, ऋषिराम कट्टेललाई कृषि तथा वन विश्वविद्यालय, श्यामनारायण लाभलाई राजर्षी जनक विश्वविद्यालय, देवेन्द्र अधिकारीलाई पोखरा विश्वविद्यालय तथा सुजन बाबु मरहट्टालाई पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरिएको हो।
सरकारले खुला प्रतिस्पर्धा मार्फत उपकुलपति छनोट प्रक्रिया अघि बढाएको थियो। त्यसका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिले आवेदन दिएका उम्मेदवारहरूको मूल्याङ्कन, प्रस्तुतीकरण र अन्तर्वार्तापछि योग्य उम्मेदवारहरूको नाम सिफारिस गरेको थियो।
सिफारिस समितिको प्रतिवेदनका आधारमा प्रधानमन्त्री शाहले शुक्रबार पाँचै विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन्।
यस नियुक्तिसँगै लामो समयदेखि नेतृत्वविहीन वा कार्यवाहक नेतृत्वमा सञ्चालन भइरहेका विश्वविद्यालयहरूले स्थायी नेतृत्व पाएका छन्। खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिएको यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा पारदर्शिता, प्रतिस्पर्धा र सुशासनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्