रामारोशनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो पालिका अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन
कमल कुमार शाही
स्वाभिमान खबर,जेठ १७
अछाम, राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) रामारोशन गाउँपालिकाको प्रथम पालिका अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। जेठ १६ गते अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै संगठनलाई गाउँस्तरसम्म थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
रामारोशन गाउँपालिकामा आयोजित अधिवेशनमा पार्टीका स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संगठन विस्तार, सुशासन, पारदर्शिता, जनउत्तरदायी राजनीति तथा स्थानीय विकासका विषयमा व्यापक छलफल गरिएको थियो।
अधिवेशनबाट कर्ण बहादुर साउद सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी पंकज रावल उपसभापति, छत्र खनाल सचिव, मर्मिला धरेल (रावल) कोषाध्यक्ष तथा सुरेश बहादुर साउद सहसचिव पदमा चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा डम्मरा जोशी, कल्पना दमाई, डम्मरा साउद, गगन सिंह साउद, अमर रोकाया र शेर अयडी चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशनमा ।
सहभागीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले रामारोशनको समृद्धि, सुशासन र जनअपेक्षाअनुसारको राजनीतिक संस्कार विकासका लागि नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
नवनिर्वाचित सभापति कर्ण बहादुर साउदले संगठनलाई जनताको अझ नजिक पुर्याउने, युवाको सहभागिता बढाउने तथा स्थानीय समस्याको समाधानका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय देशभर आफ्नो संगठन विस्तारलाई तीव्रता दिइरहेको अवस्थामा रामारोशनमा सम्पन्न यो अधिवेशनलाई स्थानीय स्तरमा पार्टीको संगठनात्मक मजबुतीका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्