दर्जन बढी युवा रास्वपामा प्रवेश, महामन्त्री जोशीद्वारा स्वागत
कमल कुमार शाही
स्वाभिमान खबर , असार २०
धनगढी कैलाली। बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकाका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध भई धनगढीमा बसोबास गर्दै आएका दर्जनभन्दा बढी युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
शनिबार आयोजित कार्यक्रममा रास्वपाका महामन्त्री तथा पार्टीका संस्थापक सदस्य सन्तोष जोशीले नवप्रवेशी युवाहरूलाई टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा युवा नेता कमल जप्रेलसहित १२ जना युवाले औपचारिक रूपमा रास्वपाको सदस्यता ग्रहण गरेका थिए।
पार्टी प्रवेशपछि बोल्दै युवा नेता कमल जप्रेलले देशमा सुशासन स्थापना, भ्रष्टाचारको अन्त्य, पारदर्शी शासन प्रणाली र युवाको अर्थपूर्ण सहभागिताका लागि रास्वपा उपयुक्त राजनीतिक शक्ति भएको विश्वास व्यक्त गरे। उनले देश परिवर्तनका लागि इमानदार राजनीतिक अभियानमा सबै युवालाई एकताबद्ध हुन आग्रहसमेत गरे।
कार्यक्रममा महामन्त्री सन्तोष जोशीले पार्टीमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै युवाहरूको सक्रिय सहभागिताले संगठनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले सुशासन, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन युवाको भूमिका महत्वपूर्ण रहने बताए।
युवा नेता कमल थापाको पहलमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा सहभागी अधिकांश युवा बझाङको दुर्गाथली गाउँपालिकाका रहेको जनाइएको छ। बझाङमा लामो समयदेखि भ्रष्टाचार, बेथिति र विकृतिविरुद्ध आवाज उठाउँदै आएका थापा पछिल्लो समय रास्वपाको संगठन विस्तार अभियानमा सक्रिय रहँदै आएका छन्।
कार्यक्रममा सहभागी नेताहरूले आगामी दिनमा सुदूरपश्चिमका विभिन्न जिल्लामा संगठन विस्तारलाई तीव्रता दिँदै युवालाई केन्द्रमा राखेर राजनीतिक अभियान सञ्चालन गरिने बताएका छन्।













प्रतिक्रिया दिनुहोस्