नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा, प्रतिनिधि छनोटको मापदण्ड सार्वजनिक
कमल कुमार शाही,
स्वाभिमान खबर ,कात्तिक १५,
काठमाडौं । नेकपा (एमाले)ले आफ्नो ११औं राष्ट्रिय महाधिवेशन निर्धारित मितिमै राजधानी काठमाडौंमा गर्ने तयारी पूरा गरेको छ । महाधिवेशन नजिकिँदै जाँदा पार्टीले प्रतिनिधि छनोटसम्बन्धी स्पष्ट मापदण्ड सार्वजनिक गरेको छ, जसअनुसार सदस्य संख्या, लैङ्गिक समानता, युवा सहभागिता र समावेशितालाई प्राथमिकता दिइने भएको छ ।
एमालेले जारी गरेको व्यवस्थाअनुसार प्रतिनिधि छनोट यसरी हुनेछन्
निर्वाचन क्षेत्रीय प्रतिनिधित्व
प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई एउटा इकाई मानेर १,२०० पार्टी सदस्य बराबर २ खुला, १ महिला र १ चालिस वर्ष मुनिका युवा रहने व्यवस्था गरिएको छ । यसरी हरेक निर्वाचन क्षेत्रबाट ४ जना प्रतिनिधि चयन हुनेछन्, जसको कुल संख्या १६५ निर्वाचन क्षेत्रबाट ६६० जना प्रतिनिधि हुनेछ ।
सदस्यसंख्याका आधारमा थप प्रतिनिधि
पार्टी सदस्य संख्या बढेसँगै हरेक ८०० सदस्य बराबर १ प्रतिनिधि थपिने व्यवस्था गरिएको छ । थपिने प्रतिनिधिमा पहिले महिला अनिवार्य रहनेछ र प्रत्येक चौथो प्रतिनिधि महिला हुने गरी ३३.३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिनेछ ।
दलित प्रतिनिधित्वको सुनिश्चितता
दलित समुदायका पार्टी सदस्यहरूको हकमा जिल्लालाई इकाई मानेर ५०० बराबर १ प्रतिनिधि चयन गरिनेछ । यसले दलित समुदायको सशक्त र समान सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।
ट्रेड युनियन र जनसङ्गठनबाट प्रतिनिधित्व
८ प्रदेशका ट्रेड युनियनहरूबाट २ महिला सहित ७ जना गरी कुल ५६ जना,
जनसङ्गठनहरूबाट २ महिला सहित ५ जना, र महासङ्घीय ढाँचाका जनसङ्गठनहरूबाट २ महिला सहित ७ जना प्रतिनिधि चयन गरिनेछन् ।
केन्द्रीय विभाग र कार्यालयबाट प्रतिनिधित्व
३२ वटा केन्द्रीय विभागहरूबाट १–१ जना गरी ३२ जना, र १ जना केन्द्रीय कार्यालयबाट, कुल ३३ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
प्रदेश र प्रवासी कमिटी प्रतिनिधित्व
८ प्रदेश कमिटीहरूबाट २ महिला सहित ५ जना गरी ४० जना,
र ६ वटा महादेशीय स्तरका प्रवासी कमिटीहरूबाट २ महिला सहित ५ जना गरी ३० जना प्रतिनिधि चयन गरिनेछन् ।
प्रतिनिधि छनोटको समयतालिका र महाधिवेशन मिति
एमालेले प्रतिनिधि छनोटका लागि स्पष्ट समयतालिका पनि सार्वजनिक गरेको छ ।
एमाले पार्टी स्रोतकाअनुसार
मंसिर १३ गते देशभर एकैपटक प्रतिनिधि छनोट प्रक्रिया सुरु हुनेछ,
मंसिर १५ गते भित्र सबै जिल्लाले प्रतिनिधि छनोट सम्पन्न भएको
विवरणहरू केन्द्रीय कार्यालयमा पठाइ सक्नुपर्ने छ ।
त्यसपछि, पार्टीको ११औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा सम्पन्न गरिनेछ ।
महाधिवेशनको उद्देश्य र सन्देश
पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस महाधिवेशनलाई “नयाँ विचार, संगठन सुदृढीकरण र युवा नेतृत्वको सशक्तीकरण”को अवसरका रूपमा अघि बढाइने बताएका छन् । महाधिवेशनमा नीति, संगठनात्मक दिशा र नेतृत्व चयनका विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।
पार्टी स्रोतका अनुसार, प्रतिनिधि छनोटमा समावेशिता, लैङ्गिक सन्तुलन र युवाको अग्रभूमि भूमिकालाई विशेष प्राथमिकता दिइएको छ । यसले एमालेभित्र सशक्त र सन्तुलित नेतृत्व संरचना निर्माण गर्ने लक्ष्य लिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, एमालेको यो महाधिवेशनले पार्टीभित्रको विचारगत स्पष्टता, संगठनात्मक पुनर्गठन र आगामी राजनीतिक दिशाको खाका तय गर्नेछ, जसको प्रभाव आगामी निर्वाचन र राष्ट्रिय राजनीतिमा देखिने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्