२०८२ चैत्र १९ गते बिहिवार

रहफवासीका माग प्रति नेकपा (माओवादी) अछामको पूर्ण समर्थन ।



रहफवासीका माग प्रति नेकपा (माओवादी) अछामको पूर्ण समर्थन
कमल कुमार शाही
स्वाभिमान खबर, माघ २१
अछाम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) अछाम जिल्ला समितिले अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ क्षेत्रका स्थानीयवासीहरूले उठाएका जायज मागहरू प्रति आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट गरेको छ। पार्टीले जनजीवन, विकास र दीर्घकालीन समृद्धिसँग जोडिएका यी मागहरू तत्काल सम्बोधन गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

जिल्ला समितिद्वारा जारी प्रेस विज्ञप्तिमा रहफ क्षेत्रमा लामो समयदेखि बेवास्तामा परेका आधारभूत पूर्वाधार, विकास–निर्माणका अधुरा योजना र जनताका दैनिकीसँग प्रत्यक्ष सम्बन्धित समस्याहरू गम्भीर बनेको उल्लेख छ। स्थानीय जनताले शान्तिपूर्ण र संगठित रूपमा उठाएका मागहरू लोकतान्त्रिक अधिकारको प्रयोग भएको भन्दै पार्टीले त्यसको सम्मान गरेको जनाएको छ।

विज्ञप्तिमा निर्वाचनका समयमा राजनीतिक दल, स्थानीय सरकार तथा राज्यका निकायहरूले गरेका प्रतिबद्धताहरू कार्यान्वयन हुन नसकेकोप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। जनतासँग गरिएका प्रतिबद्धताहरू कार्यान्वयन नगर्नु विश्वासघात हुने भन्दै जिम्मेवार पक्षलाई तत्काल उत्तरदायी बन्न आग्रह गरिएको छ।
रहफ क्षेत्रको समग्र विकासका लागि सडक, पुल, विद्युत्, खानेपानीलगायत आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माओवादी अछामको धारणा छ। विशेषगरी कर्णाली राजमार्गसँग जोडिने सडक तथा पुल निर्माण र विद्युत् विस्तारलाई दीर्घकालीन विकासको आधारका रूपमा अघि बढाउन सरकारसँग माग गरिएको छ।

पार्टीले सत्तारूढ दल तथा सम्बन्धित निकायहरू जनताका वास्तविक समस्या भन्दा राजनीतिक स्वार्थमा केन्द्रित हुँदा विकासका सवालहरू ओझेलमा परेको टिप्पणी गरेको छ। जनताको आवाजलाई केन्द्रमा राखी निर्णय र कार्यान्वयन गर्न पार्टीले राज्यसँग आग्रह गरेको छ।

अन्त्यमा, नेकपा (माओवादी) अछामले रहफवासीका मागहरू शान्तिपूर्ण, संवादमुखी र लोकतान्त्रिक तरिकाले समाधान गर्न जिल्ला प्रशासन कार्यालयसहित सबै सरोकारवाला निकायलाई आह्वान गर्दै जनहितविरुद्ध हुने कुनै पनि बेवास्ता स्वीकार्य नहुने स्पष्ट पारेको छ।

ध्यानाकर्षण पत्र

प्रकाशित मिति : २०८२ माघ २२ गते बुधवार