२०८३ साउन १३ गते बुधवार

जाजरकोटमा आफ्नै साथीको गोली लागेर प्रचण्डको घटनास्थलमै मृत्यु, पाँच जना अवैध हतियारसहित पक्राउ



जाजरकोटमा आफ्नै साथीको गोली लागेर प्रचण्डको घटनास्थलमै मृत्यु, पाँच जना अवैध हतियारसहित पक्राउ
कमल कुमार शाही

स्वाभिमान खबर,पुष १५

जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिकामा अवैध शिकार खेल्ने क्रममा आफ्नै साथीको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ। घटनामा संलग्न अन्य पाँच जनालाई प्रहरीले अवैध हातहतियारसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार २०८२ साल पुस १२ गते बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जंगलमा शिकार खेल्न गएका छ जनाको समूहमा १३ गते दुर्घटना भएको हो। शिकारकै क्रममा चलाइएको भरुवा बन्दुकको गोली लागेर ३६ वर्षीय प्रचण्ड देव सिंहको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाक प्रहरी कार्यालय बारेकोटले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी नायब निरीक्षक किरण सापकोटाको नेतृत्वमा खटिएको टोलीले जंगल क्षेत्र घेराबन्दी गर्दै पाँच जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरूको साथबाट जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न अवैध हातहतियार र विस्फोटक पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ४५ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजिव शाही, ४४ वर्षीय जनक कार्की र ३१ वर्षीय लालबहादुर सिंह रहेका छन्। उनीहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामे चक्कु, १३५.१८ ग्राम बारुदजस्तो देखिने धुलो पदार्थ, बन्दुकमा प्रयोग हुने फलामका २१ थान टुक्रा तथा ११ थान केप बरामद गरिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधिर कुमार खड्काले जानकारी दिनुभयो।

प्रहरीले अवैध शिकारको उद्देश्य, गोली चलाउने व्यक्ति को हो भन्ने विषय तथा घटनासँग जोडिएका सबै पक्षबारे गहिरो अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष १६ गते बुधवार