२०८२ माघ १७ गते शुक्रवार

कालिका मावि : इच्छाशक्ति भए सरकारी स्कुल पनि उत्कृष्ट हुन्छ



कालिका मावि : इच्छाशक्ति भए सरकारी स्कुल पनि उत्कृष्ट हुन्छ

कमल कुमार शाही
स्वाभिमान खबर, पौष ४
सरकारी विद्यालयप्रति समाजमा गहिरो अविश्वास छ। सरकारी स्कुल भनेपछि जर्जर भवन, कमजोर पढाइ र निजी विद्यालयको विकल्प मात्रै भन्ने सोच आम बनेको छ। तर बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले यो धारणा गलत मात्रै होइन, भास्य मात्रै हो भन्ने कुरा व्यवहारमै प्रमाणित गरेको छ।

वि.सं. २०१८ सालमा स्थापना भएको कालिका मावि आज सात हजारभन्दा बढी विद्यार्थी पढाइरहेको देशकै सबैभन्दा ठूलो सामुदायिक विद्यालय हो। यहाँ भर्ना नपाएर अभिभावकले निजी विद्यालय रोज्नुपर्ने अवस्था स्वयंमा सरकारी शिक्षामाथि पुनर्विचार गर्न बाध्य बनाउने यथार्थ हो। गुणस्तर कमजोर भएको भए अभिभावकको यति ठूलो भरोसा सम्भव हुने थिएन।

यो विद्यालयको सफलताको जड भव्य भवन वा ठूलो विद्यार्थी संख्या मात्र होइन, दूरदृष्टि र व्यवस्थापनमा निहित इच्छाशक्ति हो। विद्यालय स्थापना गर्दा तत्कालीन आवश्यकताभन्दा पर सोचेर जग्गा छुट्याइयो, खेलमैदान, चौर र खुला स्थानलाई शिक्षाको अनिवार्य अङ्ग मानियो। आज निजी विद्यालयहरू चार पर्खालभित्र सीमित हुँदै जाँदा, कालिका माविले देखाएको खुला शैक्षिक वातावरण झन् सान्दर्भिक बनेको छ।

कालिका मावि कक्षाकोठामा सीमित छैन। यहाँ विद्यार्थी पढाइमा मात्र होइन, कविता, वक्तृत्वकला, खेलकुद र सामाजिक गतिविधिमा पनि अग्रणी छन्। यसले एउटा स्पष्ट सन्देश दिन्छ शिक्षा भनेको परीक्षा पास गर्ने प्रक्रिया होइन, व्यक्तित्व निर्माणको यात्रा हो।

अझ महत्वपूर्ण पक्ष यसको सामाजिक उत्तरदायित्व हो। निःशुल्क छात्रावासमा गरिब, पिछडिएका र अनाथ बालबालिकाले समान अवसर पाएका छन्। आफ्नै बस सुविधा, कडा तर मानवीय अनुशासन र झन्डै आठ हजार विद्यार्थी तथा शिक्षक–कर्मचारीलाई एउटै आचारसंहिताभित्र बाँध्न सक्ने व्यवस्थापन क्षमता आजको सन्दर्भमा असाधारण उपलब्धि हो।

विद्यालयसँग करिब एक करोड तीस लाख रुपैयाँ बराबरको अक्षय कोष हुनु र त्यसबाट छात्रवृत्ति वितरण हुनु सामुदायिक विद्यालय पनि आर्थिक रूपमा आत्मनिर्भर हुन सक्छ भन्ने प्रमाण हो। यो सम्भव भएको छ पारदर्शिता, इमानदार नेतृत्व र समुदायको निरन्तर साथका कारण।

कालिका माविले गम्भीर प्रश्न उठाएको छ
यदि एउटा सामुदायिक विद्यालय यति सफल हुन सक्छ भने अरू किन सक्दैनन्? यसको उत्तर नीति वा स्रोतको अभावमा होइन, इच्छाशक्ति, जवाफदेहिता र नेतृत्वको दृष्टिकोणमा छ। सरकारी स्कुल सुधारका नाममा भाषण गर्ने नेतृत्वले कालिका माविबाट सिक्नैपर्छ।
६५ वर्ष पूरा गरेको कालिका मानवज्ञान माध्यमिक विद्यालय आज अपवाद होइन, मापदण्ड बन्नुपर्ने संस्था हो।
इच्छाशक्ति भए सरकारी स्कुल पनि उत्कृष्ट हुन्छ—कालिका माविले दिएको यो सन्देश अब नीतिमा रूपान्तरण हुनु आवश्यक छ।

प्रकाशित मिति : २०८२ पुष ४ गते शुक्रवार