३८ वर्षे सेवापछि प्रअ शिवप्रसाद पाण्डे सम्मानसहित अवकाश, सीता माविमा विदाई
गोविन्द रावत
स्वाभिमान खबर, मंसिर १८
सुर्खेत। जुम्ला तिला गाउँपालिका–१, रारा सेरी बजारस्थित सीता माध्यमिक विद्यालयले ३८ वर्षसम्म निरन्तर शैक्षिक सेवामा रहेर प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका शिवप्रसाद पाण्डेलाई शुक्रबार औपचारिक कार्यक्रम गरेर सम्मानसहित विदाई गरेको छ।

वि.सं. २०४५ सालदेखि प्रधानाध्यापकको भूमिकामा रहेका पाण्डे सेवा अवकाशमा पुगेपछि विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीले संयुक्त रूपमा आयोजन गरेको कार्यक्रममार्फत सम्मानित भएका हुन्। कार्यक्रमका सहभागीहरूले विद्यालयको शैक्षिक उन्नतिमा पाण्डेको दीर्घ कालिन योगदानलाई ‘उल्लेखनीय’ भन्दै कदर गरेका थिए।

विदाई समारोहमा विद्यालय प्रशासनले पाण्डेलाई प्रशंसापत्र, दोसल्ला, माला र सम्मान सामग्री प्रदान गरेको थियो। सम्मान ग्रहण गर्दै पाण्डे भावुक हुँदै विद्यालय तथा समुदायसँग बिताएका लामो समयलाई आफूले ‘जीवनकाे अमूल्य अध्याय’ का रूपमा लिने बताए।
कार्यक्रमका वक्ताहरूले पाण्डेको नेतृत्वमा विद्यालयले कक्षा विस्तारदेखि शैक्षिक गुणस्तर सुधारसम्म महत्वपूर्ण प्रगति हासिल गरेको स्मरण गरे। उनीहरूले भने,
“शिक्षकको ज्ञान– पुस्तौँसम्म बाँच्छ। प्रअ पाण्डेको अनुशासन, प्रतिबद्धता र सेवाभावले विद्यालयको पहिचान निर्माणमा निर्णायक भूमिका खेल्यो।”विद्यालयका पदाधिकारीहरूले पाण्डेले तयार पारेको शैक्षिक आधारभूत ढाँचाले संस्थालाई दीर्घकालीन दिशानिर्देश प्रदान गरेको उल्लेख गरे।

“तपाईंले कोरेको बाटो नै हाम्रो आगामी यात्राको मार्गदर्शन हो,” विद्यालय यहि मार्ग मार्फत अगाडि बढ्छ । कार्यक्रममा सहभागी स्थानीयहरूले पाण्डेलाई “कर्मभूमि ढाेक्दै, जन्मभूमि फर्किँदै गरेका अनुभवी गुरु” का रूपमा सम्बोधन गर्दै उनको भूमिकालाई समुदायले लामो समयसम्म स्मरण गर्ने बताए।

अवकाश ग्रहण गरे पनि शिक्षा क्षेत्रमा आफू सक्षम रहेको ठाउँमा निरन्तर सक्रिय हुने प्रतिबद्धता पाण्डेले व्यक्त गरे।
सीता माध्यमिक विद्यालयले पाण्डेको अवकाशलाई ‘अन्त्य नभई नयाँ सुरुवात’ का रूपमा व्याख्या गर्दै उहाँकाे योगदानलाई संस्थागत रूपमा सुरक्षित राख्ने बताएको छ।













प्रतिक्रिया दिनुहोस्