२०८३ साउन १५ गते शुक्रवार

नव नियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणमा एक मात्रै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी



नव नियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणमा एक मात्रै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी

कमल कुमार शाही
स्वाभिमान खबर, भदौ २७, काठमाडौं

नेपालको पहिलो अन्तरिम सरकारकी महिला प्रधानमन्त्रीका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्। उक्त शपथ ग्रहण समारोहमा प्रमुख दलका शीर्ष नेताहरू अनुपस्थित रहँदा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मात्र उपस्थित भएका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए। शपथ ग्रहण कार्यक्रममा संवैधानिक अंगका प्रमुख, मुख्य सचिव, उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखहरू सहभागी भए पनि राजनीतिक दलका अन्य शीर्ष नेताहरूको अनुपस्थिति चर्को चर्चाको विषय बनेको छ।

शपथ ग्रहण कार्यक्रममा सहभागी एक मात्र पूर्व प्रधानमन्त्रीका रूपमा बाबुराम भट्टराईलाई देख्दा उपस्थित पाहुनामाझ चासो बढेको थियो। भट्टराईले कार्कीलाई बधाई दिँदै नयाँ अन्तरिम सरकारलाई सफलताकाे शुभकामना दिएका थिए।

उनले सामाजिक सञ्जालमार्फत पनि लेख्दै, “देशलाई निकास दिने यो अवसरलाई सबैले समर्थन गर्न आवश्यक छ,” भनेका छन्।
उता, प्रधानमन्त्री कार्कीले शपथ ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै आफूलाई दिएको जिम्मेवारी पुरा निष्ठा र इमानदारीसाथ पूरा गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “यो सरकारको उद्देश्य जनताको आस्था जोगाउँदै मुलुकलाई स्थिर राजनीतिक निकास दिनु हो।”।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मात्र उपस्थित भएको शपथ समारोहलाई विश्लेषकहरूले राजनीतिक दलहरूको दूरी प्रष्ट देखाउने संकेतका रूपमा व्याख्या गरेका छन्। कतिपयले यो सरकारलाई सहयोग गर्ने कि नगर्ने भन्ने प्रश्नमा दलहरू अझै स्पष्ट हुन नसकेको टिप्पणी गरेका छन्।
अब सबैको नजर प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले अघि बढाउने पहिलो कदम र राजनीतिक दलहरूको व्यवहारमा केन्द्रित हुने देखिन्छ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार