२०८३ साउन १२ गते मङ्गलवार

हरियाली समृद्धिको अभियान: पचाल झरनामा वृक्षारोपण कार्यक्रम सम्पन्न



हरियाली समृद्धिको अभियान: पचाल झरनामा वृक्षारोपण कार्यक्रम सम्पन्न
कमल कुमार शाही
स्वाभिमान खबर – पचाल झरना, २०८२ साउन ४

पचाल झरना संरक्षण युवा क्लबको आयोजनामा वातावरण संरक्षण र हरियाली विकासको सन्देश फैलाउने उद्देश्यका साथ वृक्षारोपण कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रम पचाल झरना गाउँपालिका वडा नं. ३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र खार्दु प्राङ्गणमा सञ्चालन गरिएको हो।

वृक्षारोपण कार्यक्रममा वडा सरकार, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय बासिन्दा तथा क्लबका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहकार्य, समर्पण र वातावरणप्रतिको माया बोकेका सहभागीहरूले कार्यक्रमलाई वातावरणमैत्री र प्रभावशाली बनाएका थिए।

क्लबका अध्यक्षले उद्घाटन मन्तव्यमा वातावरण संरक्षणको महत्वमाथि प्रकाश पार्दै भने, “हरियाली विकास बिना समृद्धि सम्भव छैन, त्यसैले हाम्रो अभियान केवल वृक्ष रोप्नुमा सीमित छैन, यसले जीवनशैली परिवर्तन र समाज रूपान्तरणतर्फ पनि संकेत गर्छ।”

कार्यक्रममा विभिन्न जातजाती तथा समुदायका स्थानीय युवाहरूले एकसाथ रोपण कार्यमा जुटी सामूहिक ऐक्यबद्धता प्रस्तुत गरे। सबैको सहकार्यले कार्यक्रमलाई सफल बनाएको आयोजकले जनाएका छन्। क्लबले भविष्यमा पनि यस्ता वातावरण अनुकूल र समाज सेवामूलक कार्यक्रम निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

वृक्षारोपण कार्यक्रमले स्थानीय वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। विशेषगरी पचाल झरना क्षेत्रको हरियाली विस्तार, प्राकृतिक सन्तुलन र जैविक विविधताको संरक्षणमा यस्ता अभियानले दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रम अन्त्यमा क्लबले सहभागी सबैप्रति आभार प्रकट गर्दै भनेको थियो, “हरियो वन नेपालको धन, यो अभियान हाम्रो साझा उत्तरदायित्व हो।”

वृक्षारोपण कार्यक्रमका केही तस्बिरहरू

–स्वाभिमान संवाददाता पचाल झरना,

प्रकाशित मिति : २०८२ साउन ५ गते आइतवार