बालुवाटारमा सम्पन्न भयो मध्यपश्चिम विश्वविद्यालयको १७औँ सभा, बजेट र नयाँ मनोनयन प्रस्ताव पारित
कमल कुमार शाही
स्वाभिमान खबर काठमाडौं, असार ३०
मध्यपश्चिम विश्वविद्यालयको १७औँ सभा आज सम्माननीय प्रधानमन्त्रीको निजी सचिवालय, बालुवाटारमा सम्पन्न भएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको उक्त बैठकमा विभिन्न मन्त्रालय र निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो।
सभामा शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति रघुजी पन्त, राष्ट्रिय योजना आयोगकी सदस्य गिता कुमारी पौड्याल अधिकारी, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू, शिक्षा र अर्थ मन्त्रालयका सचिवहरू, विश्वविद्यालयका सभासद तथा अन्य विशिष्ट पाहुना सहभागी थिए।
सभाको सुरुवातमा उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले सभा सञ्चालन गर्नुभयो।
सभामा तीन वटा मुख्य प्रस्तावहरू पेस गरिए:
1. आर्थिक वर्ष २०८१/८२ को आम्दानी तथा खर्च स्वीकृत गर्ने प्रस्ताव
2. आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट तथा कार्यक्रम
3. विश्वविद्यालयको कार्यकारी परिषद्मा नयाँ सदस्य मनोनयन
सबै प्रस्तावहरू सर्वसम्मतिले पारित गरिए।
स्वीकृत विवरणअनुसार, २०८१/८२ मा विश्वविद्यालयको कुल आम्दानी रू. ८० करोड ११ लाख ९८ हजार ८२८ थियो भने खर्च रू. ७८ करोड १४ लाख ५० हजार रहेको थियो। नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि रू. १ अर्ब ३६ करोड ७७ लाख २१ हजार बराबरको बजेट प्रस्ताव गरिएको छ, जसमा पुँजीगत र सञ्चालन खर्च समावेश गरिएको छ।
कार्यकारी परिषद्मा ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेसका उप–प्राध्यापक नारायण नाथ योगीलाई सदस्यमा मनोनयन गरिएको छ।
सभाको अन्त्यमा सहकुलपति तथा शिक्षामन्त्री रघुजी पन्तले मन्तव्य दिँदै बैठक समापन गर्नुभयो।
सभाका केही तस्बिरहरू














प्रतिक्रिया दिनुहोस्