भरतपुर महानगरको बजेट ५ अर्ब १९ करोड, अघिल्लो वर्षभन्दा १ अर्ब घट्यो
कमल कुमार शाही
स्वाभिमान खबर ,चितवन, ८ असार ।
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख चित्रसेन अधिकारीले आइतबार १७औँ नगरसभामा आगामी वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो बजेट झन्डै १ अर्ब रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा महानगरको बजेट ६ अर्ब ५५ करोड ८५ लाख थियो ।
बजेटका प्रमुख शिर्षकहरू
महानगरले आन्तरिक आम्दानीबाट १ अर्ब ८० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत ३१ करोड ९१ लाख र बागमती प्रदेशबाट १४ करोड ४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत २ अर्ब १५ करोडभन्दा बढी र सामाजिक सुरक्षालगायतका शीर्षकमा १ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।
बैंक मौज्दातबाट ७० करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जनसहभागिता तथा श्रमदानबाट ५ करोड रुपैयाँ खर्च गर्ने योजना बजेटमा समेटिएको छ ।
पूँजीगतभन्दा बढी चालु खर्च
बजेटमा चालु खर्चतर्फ २ अर्ब ७३ करोड ५२ लाखभन्दा बढी रकम छुट्याइएको छ । जेठ मसान्तसम्म ६९ प्रतिशत चालु बजेट खर्च भएको छ भने पूँजीगततर्फ २ अर्ब ७२ करोड विनियोजन गरिए पनि असार पहिलो हप्तासम्म ३८ प्रतिशत मात्र खर्च भएको छ ।
गत वर्षको तुलनामा खर्च प्रगति थोरै बढेको देखिन्छ । अघिल्लो वर्षको यही अवधिमा ५१ प्रतिशत बजेट खर्च भएको थियो भने चालु वर्षमा ५३ प्रतिशत बजेट खर्च भइसकेको छ ।
वडा र क्षेत्रगत विनियोजन
महानगरभित्रका २९ वडाहरूलाई न्यूनतम ३ करोड २१ लाखदेखि अधिकतम ३ करोड ४० लाख रुपैयाँसम्मको बजेट दिइएको छ । वडास्तरीय सिलिङ निर्धारण गर्दा न्यूनतम सीमा र स्रोतमा आधारित सूत्रको आधारमा रकम बाँडफाँट गरिएको हो ।
विभिन्न क्षेत्रका कार्यक्रमहरूमा पनि बजेट विनियोजन गरिएको छ:
शिक्षा: १० करोड ५० लाख
कृषि तथा पशु विकास: ९ करोड
स्वास्थ्य सेवा: ३ करोड २५ लाख
सामान्य मर्मत सम्भार: ४ करोड
विपद् व्यवस्थापन: १ करोड ५० लाख
गौतमबुद्ध क्रिकेट रंगशाला: ४ करोड
प्रशासनिक भवन निर्माण: ४ करोड
सीसी क्यामेरा जडान: ४ करोड
भुक्तानी र दायित्व
अघिल्लो वर्ष निर्माण सम्पन्न नभएका योजनाको भुक्तानीका लागि ६० करोड छुट्याइएको छ भने बहुवर्षीय ठेक्काका योजना र दायित्वका लागि २४ करोड ५० लाख विनियोजन गरिएको छ ।
भरतपुर महानगरपालिकाले आन्तरिक आयतर्फ १ अर्ब ८० करोडको लक्ष्य लिएकोमा हालसम्म ६४ प्रतिशत मात्रै संकलन भएको छ ।













प्रतिक्रिया दिनुहोस्