कुइकाले आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा सुरत शाही चयन
कमल कुमार शाही
स्वाभिमान खबर , साउन १९
अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–८ स्थित श्री कुइकाले आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सुरत शाही चयन भएका छन्। हालै सम्पन्न विद्यालय व्यवस्थापन समितिको भेलाले सर्वसम्मत निर्णयमार्फत शाहीलाई अध्यक्ष पदमा चयन गरेको हो।
विद्यालयको शैक्षिक, भौतिक र संस्थागत सुधारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका शाही स्थानीय समुदायमा शिक्षा अगुवाकाे रूपमा चिनिन्छन्। उनको नेतृत्वमा विद्यालयको गुणस्तरीय शिक्षा प्रवाह र विद्यार्थी केन्द्रित कार्यक्रमहरूमा थप जोड दिइने अपेक्षा गरिएको छ।
भेलामा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै विद्यालयको समग्र विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नवनियुक्त अध्यक्ष सुरत शाहीले विद्यालय सुधार र समुदायको सहभागितामा आधारित शिक्षण सिकाइ प्रक्रियालाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन्। उनले अभिभावक, शिक्षक र स्थानीय सरकारसँग सहकार्य गर्दै विद्यालयको स्तरोन्नति गर्ने योजना रहेको बताएका छन्।













प्रतिक्रिया दिनुहोस्