२०८३ भाद्र २८ गते आइतवार

पञ्चपुरी नगरको ६९ करोडको बजेट: शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा



पञ्चपुरी नगरको ६९ करोडको बजेट: शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा
कमल कुमार शाही
स्वाभिमान खबर , असार १० सुर्खेत
पञ्चपुरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ११ लाख १५ हजार ३७० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न नगरपालिकाको १७औं नगर सभामा उपप्रमुख मुक्ति रेग्मीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा सेवा प्रवाहको गुणस्तरमा सुधार गर्दै, उपलब्ध स्रोत साधनको अधिकतम उपयोगमार्फत शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र पूर्वाधार विकासमा विशेष प्राथमिकता दिने लक्ष्य लिइएको छ ।

नगर प्रमुख लालबिर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नगरलाई आत्मनिर्भर बनाउन कृषिजन्य उत्पादन र फलफुल खेतीमा विशेष प्रोत्साहन दिने, युवालाई सीपमूलक तालिम दिने, बालविवाह न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना समेटिएको छ ।

स्वास्थ्य बीमा र निःशुल्क औषधि वितरण

नगरपालिकाले सम्पूर्ण नगरवासीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने नीति लिएको छ । विशेषगरी विपन्न नागरिकलाई घरमै गएर बीमा गरिदिने व्यवस्था मिलाइनेछ । मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोगीहरूका लागि आवश्यक आधारभूत औषधि निःशुल्क उपलब्ध गराइनेछ ।

शिक्षामा गुणात्मक फड्को र सामाजिक समावेशीता

शिक्षाको गुणस्तरमा सुधार गर्दै असमानता, बेरोजगारी र परनिर्भरता घटाउने लक्ष्य बजेटमा प्राथमिकतामा परेको छ । स्थानीय संस्कृति, भेषभूषा, धर्म र परम्पराको संरक्षण तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।

पारम्परिक सीप र स्वरोजगारलाई प्रोत्साहन

नगरस्तरमा परम्परागत रूपमा सञ्चालन हुँदै आएका आरण, सिलाइ–कटाइ, जुत्ता सिलाउने, डोको–नाम्लो बनाउने, दुना–टपरी बुनाइजस्ता सीपहरूलाई प्रवद्र्धन गरिनेछ । ती व्यवसायहरूलाई स्वरोजगारको स्रोतका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

भौतिक पूर्वाधार र खेलकुद क्षेत्रको विकास

भौतिक पूर्वाधार निर्माणमा आधारभूत तहका संरचनाहरूलाई प्राथमिकता दिइने भएको छ । साथै, नगर क्षेत्रभित्र कम्तीमा एउटा खेलमैदान निर्माण गर्ने नीति समेत बजेटमा समावेश गरिएको छ । युवाहरूलाई प्राविधिक र व्यवसायिक तालिम प्रदान गरिने योजना समेत सार्वजनिक गरिएको छ ।

पञ्चपुरी नगरपालिकाले समावेशी, सन्तुलित र नतिजामुखी विकासको अवधारणालाई केन्द्रमा राख्दै आगामी वर्षको बजेटमार्फत दिगो विकासतर्फ अग्रसर हुने संकेत दिएको छ ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार