२०८३ साउन १३ गते बुधवार

चामुण्डाविन्द्रासैनी नगरको ४८ करोडको बजेट सार्वजनिक, कृषि र पूर्वाधारलाई प्राथमिकता



चामुण्डाविन्द्रासैनी नगरको ४८ करोडको बजेट सार्वजनिक, कृषि र पूर्वाधारलाई प्राथमिकता
देपेन्द्र बहादुर शाही
✍️ स्वाभिमान खबर | दैलेख, असार १० गते

चामुण्डाविन्द्रासैनी नगरपालिका, दैलेखले आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड ४३ लाख ३ हजार ८८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख मनसरा कुमारी शर्माले मंगलबार नगरसभाको १७औं अधिवेशनमार्फत नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेकी हुन्।

नगर प्रमुख गणेशकुमार शाहीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको नगरपालिकाले जनाएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, खानेपानी, पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगारी, विपद् व्यवस्थापनलगायतका विषयलाई प्राथमिकताका साथ समेटिएको छ।

नगर प्रमुख शाहीले आर्थिक वर्ष २०८२/०८३ लाई समावेशी, उत्पादनमुखी र पूर्वाधारमैत्री बनाउने लक्ष्यसहित कार्यक्रम तय गरिएको जानकारी दिए। “स्थानीय आवश्यकता र जनताको प्राथमिकता अनुसार बजेट विनियोजन गरेका छौं,” उनले भने, “गाउँका किसान, युवाको रोजगारी र आधारभूत सेवामा पहुँच वृद्धि हाम्रो प्राथमिकता हो।”

नगरसभा बैठकमा प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचिव भलाराम पंगेलीले अर्को बैठक यही असार २९ गते बस्ने जानकारी दिए।

चामुण्डाविन्द्रासैनी नगरपालिकाले अघिल्ला वर्षहरूमा पनि कृषि यान्त्रीकरण, सडक विस्तार, खानेपानी तथा सिँचाइ योजनाहरूमा उल्लेखनीय लगानी गर्दै आएको छ। यस वर्षको बजेटमा यिनै योजनाहरूलाई थप सुदृढ पार्दै सामाजिक क्षेत्र र रोजगार सिर्जनामा समेत ध्यान केन्द्रित गरिएको बताइएको छ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार