२०८३ भाद्र ३१ गते बुधवार

पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी : ३५ सम्पादकको विरोध, प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न



पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी : ३५ सम्पादकको विरोध, प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न
कमल कुमार शाही
स्वाभिमान खबर ,अषाढ १

काठमाडौँ ।
पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी भएपछि सञ्चार क्षेत्र आन्दोलित बनेको छ । विभिन्न सञ्चारमाध्यममा आबद्ध ३५ जना सम्पादकले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त कदमप्रति कडा आपत्ति जनाएका छन् । उनीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारी शक्ति प्रयोग गरिएको भन्दै पाठकविरुद्धको पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् ।

पाठकले हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयबिर देउवाले काठमाडौंस्थित हिल्टन होटलमा गरेको लगानीको स्रोत खोजी गर्ने अनुसन्धानपरक सामग्री सार्वजनिक गरेका थिए । सोही विषयलाई लिएर उनलाई विद्युतीय कारोबार ऐनको दफा प्रयोग गर्दै पक्राउ गर्न खोजिएको सम्पादकहरूको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कसैले पनि विचार तथा अभिव्यक्ति स्वतन्त्रता अभ्यास गर्दा अप्रमाणित, अस्पष्ट सामग्री प्रस्तुत गरेमा त्यस विरुद्ध प्रेस काउन्सिल र न्यायालयमा मुद्दा दिन सकिने स्पष्ट कानूनी व्यवस्था र अभ्यास छ । तर फरक उद्देश्यका लागि बनेको कानूनको दफा दुरुपयोग गरी सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक हो ।’

सम्पादकहरूले संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण अनिवार्य भएको जनाउँदै राज्य संयन्त्रबाट पत्रकारमाथि दमनको शैली स्वीकार्य नहुने चेतावनी दिएका छन् । उनीहरूले पत्रकारितामार्फत उठाइएका प्रश्नहरूको उत्तर दिनुको सट्टा दमन गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य–मान्यतालाई नै कमजोर बनाउने उल्लेख गरेका छन् ।

पत्रकार पाठकले सार्वजनिक गरेका सामग्रीले सार्वजनिक चासो र पारदर्शिताको सवाल उठाएको उल्लेख गर्दै सम्पादकहरू त्यसमा भएको विषयको उत्तर सार्वजनिक गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गरेका छन् ।

सम्पादकहरूको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएका मुख्य मागहरूः

पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल खारेज गरियोस्

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गरियोस्

पत्रकारितामा उठाइएका विषयहरूका उत्तर तथ्यगत ढंगले दिइयोस्

प्रेस काउन्सिल र न्यायालयमार्फत कानूनी प्रक्रिया अपनाइयोस्

सञ्चारकर्मीमाथि दमनको घटनाले फेरि एकपटक नेपालको प्रेस स्वतन्त्रताको अवस्थामाथि गम्भीर प्रश्न उठाएको सम्पादकहरूको ठहर छ ।

> प्रेस स्वतन्त्रतामा हस्तक्षेप भयो भने हामी मौन बस्दैनौँ – संयुक्त सम्पादकीय चेतावनी

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते शनिवार