२०८३ साउन १३ गते बुधवार

पूर्वसभामुख महरामाथि आरोप लगाएकी रोशनी शाही कोठामै मृत फेला, आत्महत्याकाे आशंका



पूर्वसभामुख महरामाथि आरोप लगाएकी रोशनी शाही कोठामै मृत फेला, आत्महत्याकाे आशंका
कमल कुमार शाही
स्वाभिमान खबर , जेठ ११

भक्तपुर, काठमाडौं , पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी रोशनी शाही आइतबार मृत अवस्थामा फेला परेकी छन्। उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–५, बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज न्यौपानेका अनुसार शाही आइतबार कोठाभित्रै मृत अवस्थामा भेटिएकी हुन्। दिउँसोसम्म पनि कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जनप्रतिनिधिको रोहवरमा ढोका फोड्दा सुत्ने कोठाको भुइँमा उनको शव फेला परेको थियो।

शाहीको शव भेटिँदा कोठाभित्रबाट चुकुल लगाइएको अवस्थामा थियो। प्रारम्भिक अनुसन्धान अनुसार उनी केही दिनदेखि एक्लै बस्दै आएकी थिइन्। उनका श्रीमान उपत्यका बाहिर गएका थिए भने उनका छोराछोरी विदेशमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको शरीरमा कुनै चोटपटक देखिएको छैन। घटनास्थलबाट सुसाइड नोट पनि बरामद गरिएको छ। यद्यपि सुसाइड नोटमा के लेखिएको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन। घटना आत्महत्या हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने विषयमा हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शाहीले २०७६ सालमा तत्कालीन सभामुख महरामाथि बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। उक्त प्रकरणले देशभर चासो पाएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार