अछाम जयगढ आगलागी पीडितलाई नेकपाद्वारा राहत वितरण, २६ परिवारलाई चामल र आलु सहयोग
कमल कुमार शाही
स्वाभिमान खबर , जेठ ७
जयगढ, अछाम — अछामको जयगढ बजारमा चैत २६ गते बेलुकी सिलिन्डर ग्यास विस्फोट भई भएको भयावह आगलागीबाट पीडित बनेका २६ परिवारलाई नेपाल कम्युनिस्ट पार्टी (सुदूरपश्चिम प्रदेश कमिटी) ले राहत वितरण गरेको छ।

आगलागीले स्थानीय बासिन्दाको घरगोठ, पसल, अन्नपात र सरसामानमा ठूलो क्षति पुर्याएको थियो। पीडितहरू खुला आकाशमुनि बस्न बाध्य भइरहेका बेला नेकपाले आफ्नै उत्पादनबाट ५ बोरा आलु र २६ बोरा चामल राहतस्वरूप वितरण गरेको हो।

राहत वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सी, जिल्ला सचिव निरक सी, केन्द्रीय प्रतिनिधि विकास, सुमन सी लगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीको वार्षिक क्यालेन्डर र जनचेतनामूलक सामग्रीहरू समेत वितरण गरिएको थियो।

नेकपा नेतृ मिना सी ले विपद्को समयमा पार्टी सधैं जनताको छेउमा रहने प्रतिबद्धता जनाउँदै, राहत वितरणलाई जनसेवाको अभिन्न अङ्गका रूपमा लिएको बताइन्। कार्यक्रममा स्थानीय बासिन्दा र पीडितहरूले पार्टीप्रति आभार व्यक्त गरेका थिए।

पार्टीले आगलागीपीडितको पुनःस्थापना र दीर्घकालीन सहयोगका लागि पनि पहल गरिने जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्