२०८३ भाद्र २९ गते सोमवार

शिक्षालाई प्रविधिमैत्री बनाउन : चौकुने गाउँपालिकाद्वारा विद्यालयलाई ल्यापटप र स्मार्ट टिभी प्रदान



शिक्षालाई प्रविधिमैत्री बनाउन : चौकुने गाउँपालिकाद्वारा विद्यालयलाई ल्यापटप र स्मार्ट टिभी प्रदान

कमल कुमार शाही
स्वाभिमान खबर ,जेठ १

चौकुने गाउँपालिकाले प्रविधियुक्त शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले पालिकाभित्रका सामुदायिक विद्यालयहरूलाई ल्यापटप र स्मार्ट टिभी वितरण गरेको छ।

गाउँपालिकाभित्रका १० वटा माध्यमिक र प्राथमिक विद्यालयलाई एक कार्यक्रमबीच ल्यापटप तथा स्मार्ट टिभी प्रदान गरिएको हो। कार्यक्रमको प्रमुख आतिथ्य गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेले गर्नु भएको थियो। अध्यक्ष वासपानेका अनुसार, ‘कागजविहीन शिक्षा’को अवधारणा अनुरूप सूचना प्रविधिको प्रयोगमार्फत शिक्षाको गुणस्तरमा सुधार ल्याउने लक्ष्यका साथ उपकरण वितरण गरिएको हो।

शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाका अनुसार ल्यापटप वितरण गरिएको विद्यालयहरूमा श्री ने.रा. प्रा.वि. काप्रीकाँडा, ने.रा.आ.वि. मोतिसेरा, नवदुर्गा प्रा.वि. खारगाडी, ने.रा.आ.वि. साल्मधारापानी, जनकल्याण प्रा.वि. रेक्चा, ने.रा.आ.वि. पुच्मा, ने.रा.प्रा.वि. सिमलखेत, ने.रा.मा.वि. भट्टेसरा र ने.रा.म.मा.वि. शोभानचौर रहेका छन्।

स्मार्ट टिभी वितरण गरिएको विद्यालयहरूमा देवस्थान मा.वि. कुमाला, कालिका प्रा.वि., सिद्धेश्वरी मा.वि. सान्नेघारी, जीवन ज्योति मा.वि., शान्तिदीप प्रा.वि., ने.रा.मा.वि. भट्टेसरा, सरस्वती प्रा.वि. मायाताल, ने.रा.प्रा.वि. भुडेभावर, महाकाली आ.वि. बोला र सरस्वती प्रा.वि. केवडी समावेश छन्।

कार्यक्रममा पालिका उपाध्यक्ष नर बहादुर बान्तोला, प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर बिक, सामाजिक विकास संयोजक तथा वडा नं. ८ का अध्यक्ष कमल जि.सी. लगायत सबै विद्यालयका प्रधानाध्यापकहरू सहभागी थिए। कार्यक्रम सञ्चालन नेपाल शिक्षक महासंघ चौकुनेका अध्यक्ष दिनेश प्रसाद जोशीले गर्नुभएको थियो।

प्रधानाध्यापक भानुभक्त घिमिरेका अनुसार प्रविधि पहुँचसँगै शिक्षामा नयाँ धार सुरु हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार