सुदूरपश्चिममा परम्परागत बिशु पर्वको रौनक : देवर–भाउजूबीच सिस्नु हानाहानले गाउँ रमायो ।
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर , बैशाख १
बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, डडेलधुरा, दार्चुला र अछाममा नयाँ वर्षको अवसरमा मनाइने परम्परागत बिशु पर्व यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको छ। पुराना परम्परा र संस्कृतिलाई जीवित राख्दै स्थानीयहरूले विशेषगरी देवर–भाउजूबीचको ‘सिस्नु हानाहान’ कार्यक्रमका साथ यो पर्व मनाएका छन्।
बिशु पर्व विशेषगरी बैशाख १ गते मनाइन्छ। यसलाई कृषिसँग पनि जोडिएको पर्व मानिन्छ, जहाँ समुदायले अघिल्लो वर्षको विदाइ र नयाँ वर्षको स्वागत सँगसँगै आपसी सम्बन्धको माया र सद्भाव व्यक्त गर्दछन्।

बैतडीको शिखर नगरपालिका–५ मा बसोबास गर्ने स्थानीय लक्ष्मण बोहरा सिटल भन्छन्, “हामीकहाँ बिशु पर्व केवल रमाइलोको लागि होइन, यो हाम्रो परम्परा, सम्बन्ध र संस्कृतिको पर्व हो। सिस्नु हानाहान हाम्रो संस्कृतिमा भाइचारा र मजाकको रुपमा लिइन्छ, कोही रिसाउदैन।”
उक्त क्षेत्रमा नयाँ वर्षको पहिलो बिहानैदेखि गाउँका युवायुवती, महिला तथा पुरुषहरू झुन्डमा भेला भएर आपसमा सिस्नु हानाहान गर्ने, लोकगीत गाउने, र स्थानीय भेषभूषा र गहना लगाएर गाउँभरि घुम्ने चलन छ।
यसपटक बिशु पर्वको रमाइलो दृश्य सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ। लक्ष्मण बोहराले खिचेको भिडियोमा गाउँका महिला र पुरुषहरू हातमा सिस्नु बोकेर हाँस्दै रमाइलो गर्दै भिडन्त गरिरहेको देखिन्छ। एक अर्कामाथि सिस्नु हानेर हास्यपूर्ण वातावरण बनाइएको उक्त दृश्यमा परम्परा र मनोरञ्जनको समिश्रण झल्किन्छ।
स्थानीय पत्रकार रीता पाण्डे का अनुसार, “बिशु पर्व जस्तो मौलिक संस्कृति आज पनि बैतडीका गाउँहरूमा ज्यूँका त्यूँ देखिनु आशा लाग्दो कुरा हो। नयाँ पुस्ताले पनि आ–आफ्ना संस्कृति आत्मसात गरिरहेको देख्दा खुसी लाग्छ।”
पर्वको अवसरमा गाउँघरमा विशेष परिकारहरू – धिँडो, तरकारी, घ्यू, साखर र लोकल खाना पकाइन्छ। वृद्धवृद्धा र समुदायका अगुवाहरूलाई श्रद्धा प्रकट गरिन्छ, र सामूहिक भोजको आयोजना पनि गरिन्छ।
धार्मिक तथा सामाजिक दृष्टिकोणले पनि बिशु पर्वलाई अघिल्लो वर्षको समाप्ति र नयाँ सुरुवातको प्रतीक मानिन्छ। गाउँलेहरू पुराना र खराब सम्झनाहरू बिर्सेर नयाँ सम्बन्ध र शुभकामनाको सुरुवात गर्न यो पर्वलाई अवसरका रूपमा लिन्छन्।
सांस्कृतिक विश्लेषक गोविन्द साउँद भन्छन्, “बिशु पर्व केवल परम्परा होइन, यो हाम्रो पहिचान हो। यस्ता पर्वले हाम्रो मौलिक संस्कृतिको संरक्षण गर्छ र सामाजिक एकता बढाउँछ।”
बिशु पर्व सुदूरपश्चिमका जनजीवनमा गहिरो रूपमा गढिएको सांस्कृतिक पर्व हो। परम्परागत खेल, स्नेह र सामाजिक सद्भाव झल्काउने यो पर्वको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ। डिजिटल युगमा पनि यस्ता मौलिक चाडपर्व जगेर्ना भइरहेकाेमा स्थानीयहरू उत्साहित छन्।













प्रतिक्रिया दिनुहोस्