२०८३ भाद्र २९ गते सोमवार

एक्लिएको गाउँ – महेन्द्र कुमार शाह ” Kabir”



एक्लिएको गाउँ – महेन्द्र कुमार शाह ” Kabir

समयसंगै पुस्ता फेरियो पुस्तासंगै पटकपटक व्यवस्था फेरियो तर गाउँको अवस्था फेरिएन व्यवस्था चलाउनेहरुको गाउँप्रतिको धारणा फेरिएन,दृष्टिकोण फेरिएन अनी आदिकालीन यो गाउँ कुक्रुक्क यथास्थितिमा बसिरहयो युगौ देखि  !

असार १४, अछाम

कुनै जमाना थियो गाउँभरी मान्छेहरु हुन्थे,स-सानादेखि ठूला चाडपर्ब,बिहे,व्रतबन्ध,जन्म,मृत्यु संस्कार वा कसैको सुख दुःखमा सम्पूर्ण गाउँलेहरु भेला हुन्थे ! एक आपसमा सुखदुःख साटासाट र सकेजती एकाअर्कालाई सहयोग गर्थें ! गाउँलेहरु बीच भाइचाराको सम्बन्ध कायम थियो,गाउँघर,छरछिमिकमा ऐचौपैचो,मेलापात,पर्मपात चल्थ्यो !

हिउँदमा साइत हेरी सम्पूर्ण गाउँलेहरु एकैदिन डोको भरी घ्यू आफुलाइ बाटोमा चाहिने सामल र केही सपनाहरू बोकि हाट जान्थे,हाटबाट घरपरिवारलाई चाहिने लत्ताकपडा,मरमसला र बिशेषगरि बर्षभरीलाई पुग्नेगरि नुन ल्याउथे रे ! यद्यपि त्यो बेला मुगलान जाने खासै चलन थिएन क्यारे ! यसो कोही कोही हिउँदका २/४महीना गएपनी बर्खा नलाग्दै गाउँ भित्री सक्थे! याने कि सिमित आवश्यकता,आकांक्षा,सपना र सिमित खर्च गाउँलेहरुको दिनचर्या र बार्षिकि यही थियो!आह!!कति सललल बगेको गाउँले जिन्दगी!

समयसंगै पुस्ता फेरियो पुस्तासंगै पटकपटक व्यवस्था फेरियो तर गाउँको अवस्था फेरिएन व्यवस्था चलाउनेहरुको गाउँप्रतिको धारणा फेरिएन,दृष्टिकोण फेरिएन अनी आदिकालीन यो गाउँ कुक्रुक्क यथास्थितिमा बसिरहयो युगौ देखि  !तर यहाँका मान्छेहरुका आवश्यकता फेरिए,आवश्यकतासंगै सोचाइ फेरिए आकांक्षा फेरिए,खर्च फेरियो अनी फेरिए छोरा,नातिका सपनाहरू!

यी आवश्यकता,आकांक्षा र सपनाहरूको खोजीमा मान्छे बिस्तारै गाउँदेखि सहर,बजार अनी मुगलानतिर पस्न थाले! यसरी कसैलाई सपनाहरूले बोलायो,कसैलाई नियति र बाध्यताले लखेट्यो,बिजुली,बाटोघाटो,शिक्षा,स्वास्थ केही नभएको यो एकान्त गाउँमा कसैले फर्किन मानेनन् !
अतः सनै,सनै गाउँ रित्तिन पो थाल्यो! यो गाउँ आजकाल भारतका विभिन्न सहरहरुका साथै सुर्खेत,काठमाडौं,कैलाली,बर्दिया र बाहिरका विभिन्न देशहरूमा छरिएको छ,बरु यो गाउँमा छरिएका छन उनिहरुका बिराना सम्झनाहरु मात्रै !!

गाउँछेउ आजकाल बनकुसुमहरु फूल्दैनन् पैयू,आरुका बोटमा अडेस लागेर बाख्रा चराउनेहरु भेटिदैनन् बरपिपलको छहारीमा गटटा खेल्ने केटाकेटी,बाघचाल खेल्ने युवायुवती,डोको बुन्दै गर्ने काका र दाइहरु भेटिदैनन् ,बर्खायाममा कुहिरोभित्र चरिरहेका बस्तुभाउहरुको घाडाको मिठो संगीत सुनिदैन,गोठाहरुले बजाउने मुरलीको सुरिलो धुन सुनिदैन खेताला,रोपाहार देखिदैनन् !देखिन्छ त केवल एकनासले बिरक्तिएको एक्लो गाउँ र भेटिन्छ्न बिरक्तिएका एक्ला बुढाबुढी मात्र!

धानफल्ने खेतहरु बनमाराका झाडी भएका छन,ढुङ्गाका छपनीहरु लेउले ढाकेका छन,पधेरामा पानी रसाउन छाडेको छ!बरु रसाइरहन्छन यहाँ बस्नेहरूका आँखाहरु,रोइरहन्छ्न मनहरु!!!
यसरी बाध्यता र नियतिले रित्तो बनाएको यो गाउँमा गुलजार साँझहरु कहिले फर्केर आउलान् खै???
काम गर्न सक्ने युवा र सिपयुक्त जनशक्ति बिदेश गएपछि जमीन बाँझै रहनु स्वाभाविक हो,तर यो लक्षण देशोन्नतिका लागि कदापि राम्रो होइन!!यसले देश कुन दिशातिर गैरहेको छ त भन्ने प्रष्ट पार्छ !!

लेखक- चण्डीका मा वि का नेपाली शिक्षक हुन ।

प्रकाशित मिति : २०८१ असार १४ गते शुक्रवार