२०८२ चैत्र १९ गते बिहिवार

३३ अर्ब ४७ करोड सुदूरपश्चिम प्रदेशको बजेट : पूर्वाधार, कृषि र शिक्षामा प्राथमिकता



३३ अर्ब ४७ करोड सुदूरपश्चिम प्रदेशको बजेट : पूर्वाधार, कृषि र शिक्षामा प्राथमिकता

देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर, कैलाली — असार १, २०८२।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ७० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापाले प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा र सामाजिक क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ।

बजेटको समग्र संरचना

कुल बजेट : ३३ अर्ब ४७ करोड ७० लाख

चालु खर्च : १० अर्ब २० करोड ८१ लाख (३०.४९%)

पुँजीगत खर्च : १९ अर्ब ८३ करोड २ लाख (५९.२५%)

अन्तरसरकारी वित्तीय हस्तान्तरण : ३ अर्ब ४२ करोड ७७ लाख

वित्तीय व्यवस्था खर्च : १ करोड

पूर्वाधारमै सबैभन्दा ठूलो हिस्सा

सबैभन्दा धेरै १५ अर्ब ४० करोड रुपैयाँ भौतिक पूर्वाधार विकास मन्त्रालयलाई छुट्याइएको छ।
बजेटबाट सडक निर्माण, खानेपानी आयोजना, जलप्रकोप न्यूनीकरण, प्रादेशिक तथा स्थानीय सडक सुधारजस्ता काम गरिनेछ।

प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाका लागि मात्रै १ अर्ब ३१ करोड ६२ लाख विनियोजन गरिएको छ।

कृषि उत्पादन र युवालाई प्रोत्साहन

कृषिमा ३ अर्ब ३० करोड १० लाख बजेट छुट्याइएको छ।

‘एक स्थानीय तह दुई उत्पादन कार्यक्रम’ संचालन गरिने, जसअन्तर्गत १७६ पकेट क्षेत्र निर्माण हुनेछ।

५ हजार कृषक लाभान्वित हुने लक्ष्यसहित १७६ प्राविधिक परिचालन गरिनेछ।

कृषि कर्जामा ब्याज अनुदानका लागि १३ करोड ४५ लाख विनियोजन गरिएको छ।

एक जिल्ला एक उद्योग कार्यक्रम अन्तर्गत १ करोड छुट्याइएको छ।

शिक्षा र विज्ञान प्रवर्द्धनतर्फ बजेट

प्रदेश सरकारले टीकापुरमा स्थापना गर्न लागिएको विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण सुरु गर्ने जनाएको छ।

उक्त कार्यका लागि ५ करोड ५० लाख विनियोजन गरिएको छ।

अन्य क्षेत्रको बजेट विवरण

सामाजिक विकास मन्त्रालय : ७ अर्ब ७ करोड ४ लाख

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय : २ अर्ब ३८ करोड

आन्तरिक मामिला मन्त्रालय : ३६ करोड ४ लाख

एक जिल्ला एक क्रिकेट मैदान निर्माणका लागि १ करोड २५ लाख छुट्याइएको छ।

मन्त्री थापाले बजेटले प्रदेशको आर्थिक समृद्धि, सामाजिक सेवा, पूर्वाधार विकास र रोजगार सिर्जनामा योगदान पुग्ने अपेक्षा राखेका छन्।

प्रकाशित मिति : २०८२ असार १ गते आइतवार