राजनीति होइन, परिणामको बहस : धनगढीमा बालेनको स्पष्ट संन्देश
कमल कुमार शाही
स्वाभिमान खबर, फागुन ६
धनगढी, – बालेन्द्र शाह (बालेन) ले धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै परम्परागत राजनीतिक नाराभन्दा परिणाममुखी कामको बहस आवश्यक रहेको बताएका छन्। उनले “भोट नदिए पनि हुन्छ, काम दिनुस्” भन्ने अभिव्यक्तिसहित विकासलाई प्राथमिक एजेन्डा बनाउने संन्देश दिए।
सभामा बोल्दै उनले पुराना राजनीतिक अभ्यासमाथि प्रश्न उठाउँदै अब नागरिकले भाषण होइन, परिणाम हेर्न चाहेको बताए। “राजनीति गरेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ,” उनले भने, “हामी यहाँ भोट माग्नभन्दा काम गर्न आएका हौं।”
सुदूरपश्चिमको सम्भावनाबारे चर्चा गर्दै उनले खप्तड राष्ट्रिय निकुञ्ज जस्ता प्राकृतिक सम्पदाको सही प्रवर्द्धन हुन नसकेको टिप्पणी गरे। पर्यटन, पूर्वाधार र रोजगारीलाई एकसाथ अघि बढाए मात्र प्रदेशको समग्र विकास सम्भव हुने उनको धारणा थियो।
उनले काठमाडौं–केन्द्रित सोचको आलोचना गर्दै सुदूरपश्चिमलाई ‘सु–नजिक’ प्रदेश बनाउने लक्ष्य प्रस्तुत गरे। “काठमाडौँका चोकमा यहाँका गीत बज्ने दिन आयो भने मात्रै सुदूरपश्चिम साँचो अर्थमा जोडिन्छ,” उनले भने।
कार्यक्रममा स्थानीय युवाहरूले रोजगारी, सडक पूर्वाधार र सुशासनका विषयमा प्रश्न उठाएका थिए। त्यसको जवाफ दिँदै बालेनले पारदर्शिता र जवाफदेहितालाई पहिलो शर्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
बीस वर्षसम्म निर्माण हुन नसकेको सडक छोटो अवधिमा विस्तार गरिएको उदाहरण दिँदै उनले इच्छाशक्ति भए परिवर्तन सम्भव रहेको दाबी गरे। “काम गर्न चाहियो भने बाटो आफैं खुल्छ,” उनले थपे।
धनगढीको मञ्चबाट आएको यो सन्देशले सुदूरपश्चिमको राजनीतिक विमर्शलाई परिणाम–केन्द्रित बहसतर्फ मोड्ने संकेत दिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्