नेकपा (माओवादी) दैलेखद्वारा प्रतिनिधि सभा उम्मेदवारको नाम सिफारिस: क्षेत्र नं. १ रामलाल विश्वकर्मा र क्षेत्र नं. २ मा कलम सिंह एकल सिफारिस
कमल कुमार शाही
स्वाभिमान खबर, पुष २६
दैलेख।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति दैलेखले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला समितिको बैठकले निर्वाचन क्षेत्र नं. १ बाट रामलाल विश्वकर्मालाई र निर्वाचन क्षेत्र नं. २ बाट कलम सिंह एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टी स्रोतका अनुसार संगठनात्मक सन्तुलन, जनआधार, राजनीतिक अनुभव तथा आन्दोलनप्रतिको योगदानलाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको हो। बैठकमा जिल्लाको समग्र राजनीतिक अवस्था, विगतका निर्वाचन परिणाम, जनताको अपेक्षा र आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने रणनीतिबारे समेत व्यापक छलफल गरिएको जनाइएको छ ।
निर्वाचन क्षेत्र नं. १ बाट एकल सिफारिसमा परेका रामलाल विश्वकर्मा पार्टीका केन्द्रीय सदस्यसमेत हुन्। उनी श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्षका रूपमा चिनिन्छन्। सामाजिक न्याय, समावेशिता र दलित अधिकारका मुद्दामा लामो समयदेखि क्रियाशील रहँदै आएका विश्वकर्मालाई प्रभावशाली उम्मेदवारका रूपमा अघि सारिएको पार्टीको बुझाइ छ। भने निर्वाचन क्षेत्र नं. २ बाट सिफारिस भएका कलम सिंह पार्टी संगठन निर्माण र जनसंघर्षमा सक्रिय रहँदै आएका नेता हुन्। उनी स्थानीय तहदेखि जिल्लासम्म पार्टी गतिविधिमा निरन्तर संलग्न रहँदै आएको माओवादीले जनाएको छ।
जिल्ला कमिटीले दुवै क्षेत्रमा पार्टीको संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र मुद्दामुखी अभियानलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ। माओवादीले संविधानको रक्षा, सामाजिक न्याय, सुशासन, रोजगारी र जनजीविकाका सवाललाई मुख्य एजेन्डा बनाएर निर्वाचनमा जाने तयारी थालेको जनाएको छ।
जिल्ला समितिबाट सिफारिस भएका नामहरू केन्द्रीय तहमा पठाइएको छ । अन्तिम उम्मेदवारको टुंगो पार्टी केन्द्रीय कमिटीले लगाउने प्रक्रिया बाँकी रहेको माओवादीले जनाएको छ। दैलेखमा माओवादीले दुवै क्षेत्रमा एकल सिफारिस गरेसँगै जिल्लाको चुनावी राजनीति थप चासोको विषय बनेको छ।













प्रतिक्रिया दिनुहोस्