विप्लवको राजनीतिक धारतर्फ उन्मुख जेन–जी आन्दोलन
सर्वपक्षीय सरकारको मागसहित मिराज ढुंगानाको नेतृत्वमा सडक संघर्ष घोषणा
कमल कुमार शाही
स्वाभिमान खबर, ६ पौष, काठमाडौं
देशको विद्यमान राजनीतिक संरचनाप्रति बढ्दो जनअसन्तोष र दलगत शासनप्रति गहिरिँदो अविश्वासबीच जेन–जी आन्दोलनले आफूलाई खुला रूपमा नयाँ राजनीतिक धारमा उभ्याउने संकेत दिएको छ। जेन–जी आन्दोलनका संयोजक मिराज ढुंगानाको नेतृत्वमा रहेको नेपाल कम्यूनिष्ट पार्टी माओवादी का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको राजनीतिक एजेन्डासँग मेल खाने गरी सर्वपक्षीय सरकार गठनको मागसहित सडक आन्दोलनको घोषणा गरेको हो।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत ढुंगाना समूहले वर्तमान सरकार जनआन्दोलनको मर्मविपरीत उभिएको निष्कर्ष निकाल्दै सोमबारदेखि देशव्यापी संघर्षमा उत्रिने घोषणा गरेको छ। उनीहरूले दलगत सरकार असफल भइसकेको, राज्य संरचना जनताको पक्षमा काम गर्न असमर्थ भएको र देश राजनीतिक निकासविहीन अवस्थामा पुगेको दाबी गरेका छन्।
‘दलको सरकार होइन, जनताको सरकार चाहियो’
पत्रकार सम्मेलनमा बोल्दै मिराज ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिने कार्यकाल पूर्ण रूपमा असफल भइसकेको आरोप लगाए। उनका अनुसार सरकारले न त भदौमा भएको जेन–जी आन्दोलनका एजेन्डा सम्बोधन गर्न सक्यो, न त देशलाई संकटबाट बाहिर निकाल्ने कुनै वैकल्पिक राजनीतिक रोडम्याप प्रस्तुत गर्न।
“यो आन्दोलन कुनै व्यक्तिको सत्ता यात्राको सिँढी होइन,” ढुंगानाले भने, “जेन–जी आन्दोलन नेताको ब्रान्ड बन्ने अभियान होइन। आन्दोलनमाथि टेकेर अग्लो बन्ने प्रयास राजनीतिक बेइमानी हो। अहिलेको सरकारले आन्दोलनको मर्म बोक्दैन, जनताको प्रतिनिधित्व गर्दैन।”
सर्वपक्षीय सरकार : विप्लव धारको केन्द्रीय एजेन्डा
ढुंगानाले मुलुकको विद्यमान संकट समाधानका लागि सबै राजनीतिक शक्ति, असन्तुष्ट पक्ष, नागरिक आन्दोलन र वैकल्पिक धारलाई समेट्ने सर्वपक्षीय सरकार अपरिहार्य भएको बताए। यो अवधारणा लामो समयदेखि विप्लव नेतृत्वको नेकपाको केन्द्रीय राजनीतिक एजेन्डा रहँदै आएको छ, जसले दलगत संसदीय व्यवस्थालाई संकटको मूल कारण मान्दै आएको छ।
“देश अहिले दलको सीमाभित्र थुनिएको छ,” ढुंगानाले भने,
“दलको सरकारबाट निकास सम्भव छैन। सबै पक्षलाई विश्वासमा लिएर निर्णय गर्न सक्ने राष्ट्रिय सरकार आजको आवश्यकता हो। तर वर्तमान सरकारले त्यो सामर्थ्य देखाउन सकेको छैन।”
चुनावको बहानामा असन्तोष दबाउने प्रयास ?
ढुंगानाले सरकारले आगामी निर्वाचनलाई अनावश्यक रूपमा अघि सारेर जनअसन्तोषलाई दबाउन खोजेको आरोप पनि लगाए।
“०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको होइन,” उनले स्पष्ट पारे, “यो आन्दोलन देशलाई निकास दिनका लागि हो। तर सरकार किन बारम्बार चुनावको रट लगाइरहेको छ ? जनताको असन्तोष चुनावको मितिले शान्त हुँदैन।”
यो अभिव्यक्तिले विप्लव धारको ‘चुनाव केन्द्रित राजनीति होइन, संरचनागत परिवर्तन’ भन्ने दृष्टिकोणसँग प्रत्यक्ष साम्य देखाउँछ।
जेन–जी आन्दोलन : सडक असन्तोषबाट राजनीतिक ध्रुवीकरणतर्फ
पछिल्ला दिनमा जेन–जी आन्दोलनको राजनीतिक भाष्य राज्य संरचनाप्रतिको असहमति, दलगत व्यवस्थाप्रतिको आलोचना र सर्वपक्षीय सरकारको अवधारणा मार्फत क्रमशः विप्लव धारतर्फ नजिकिँदै गएको देखिन्छ।
विश्लेषकहरूका अनुसार जेन–जी आन्दोलन अब केवल पुस्तागत असन्तोषको अभिव्यक्ति मात्र नभई संगठित वैकल्पिक राजनीतिक धारको प्रारम्भिक रूप बन्दै गएको छ।
ढुंगाना समूहले आन्दोलनका चरण, कार्यक्रम र संघर्षका स्वरूप क्रमशः सार्वजनिक गर्ने जनाएको छ। तर राजनीतिक वृत्तमा भने यो घोषणालाई जेन–जी आन्दोलनले खुला रूपमा दलगत व्यवस्थाविरुद्ध उभिँदै विप्लव नेतृत्वको वैकल्पिक राजनीतिक एजेन्डालाई वैधानिकता दिने प्रयासका रूपमा हेरिएको छ।
दलको घेराभित्र थिचिएको राज्य व्यवस्था, जनताबाट टाढिँदै गएको सत्ता र समाधानविहीन राजनीतिक संकटका बीच जेन–जी आन्दोलन कुन मोड लिन्छ भन्ने प्रश्न अब सडक र सत्ता दुवैका लागि गम्भीर चुनौती बन्दै गएको छ।













प्रतिक्रिया दिनुहोस्