तेस्रो पटक ओली एमालेको अध्यक्ष, कडा प्रतिस्पर्धाबाट ११औँ महाधिवेशन सम्पन्न
कमल कुमार शाही
स्वाभिमान खबर,पौष ३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन कडा प्रतिस्पर्धाका बीच सम्पन्न भएको छ। महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका छन्। आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा लिइएको अध्यक्ष पदको निर्वाचनमा ओलीले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार अध्यक्ष केपी शर्मा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा ईश्वर पोखरेलले जम्मा ५६४ मतमा सीमित हुन पुगे। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनसमेत पाएका पोखरेलले ओलीलाई कडा चुनौती दिने अनुमान गरिए पनि मत परिणाम त्यसअनुकूल देखिएन।
राजनीतिक वृत्तमा पोखरेलको पराजयलाई उनको आफ्नै प्यानलबाट भएको असहयोगसँग जोडेर हेरिएको छ। पोखरेल प्यानलबाट उम्मेदवार बनेका उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई भने विजयी हुन सफल भए। त्यस्तै, पोखरेल प्यानलका अन्य उम्मेदवारहरूले पनि सम्मानजनक मत प्राप्त गरेका छन्, जुन स्वयं पोखरेलले पाएको मतभन्दा बढी देखिएको छ।
यसले अध्यक्ष पोखरेललाई आफ्नै प्यानलभित्रबाट अपेक्षित सहयोग नपाएको संकेत गरेको छ। आफ्नै टिमका उम्मेदवारहरू विजयी हुँदै गर्दा अध्यक्ष पदका उम्मेदवार पोखरेल कमजोर मतमा सीमित हुनु एमालेको आन्तरिक शक्ति सन्तुलन र गुटगत राजनीतिलाई उजागर गर्ने घटनाका रूपमा हेरिएको छ।
महाधिवेशन अवधिभर ओली र पोखरेलबीच वैचारिकभन्दा बढी संगठनात्मक र नेतृत्व क्षमताको प्रतिस्पर्धा देखिएको थियो। ओलीले पार्टी एकता, स्थायित्व र नेतृत्वको निरन्तरताको पक्षमा मत माग्दा पोखरेलले वैकल्पिक नेतृत्व र समावेशी व्यवस्थापनको एजेन्डा अघि सारेका थिए। तर, मतदाताहरूको विश्वास ओलीतर्फ केन्द्रित भएको देखियो।
११औँ महाधिवेशनसँगै एमालेले आगामी राजनीतिक यात्राका लागि नयाँ नेतृत्व पाएको छ। अध्यक्षमा ओलीको पुनः निर्वाचित हुनुले पार्टीभित्र उनको प्रभाव अझै बलियो रहेको सन्देश दिएको छ भने पोखरेलको कमजोर प्रदर्शनले एमालेभित्रको शक्ति समीकरण पुनः एकपटक स्पष्ट भएको विश्लेषकहरूको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्