सुदूरपश्चिम जेन्जी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेता बीच भेट
कमल कुमार शाही
स्वाभिमान खबर, मंसिर १३
धनगढी कैलाली । सुदूरपश्चिममा सक्रिय जेनेरेसन–जेड (जेन्जी) अभियानका अगुवा विष्णु खड्का नेतृत्वको टोली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का स्थायी कमिटी सदस्य भरत सिंह रणबीरबीच धनगढीमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।

देशको राजनीतिक निकास, प्रणालीगत सुधार र युवापुस्ताको भूमिकाबारे गरिएको खुला छलफलले भेटलाई सकारात्मक मोड दिएको दुवै पक्षले बताएका छन् ।
भेटका क्रममा दुवै पक्षले वर्तमान राजनीतिक दल तथा नेताहरू लामो समय सत्तामा रहेर पनि अपेक्षित सुधार ल्याउन नसकेको वास्तविकता साझा रूपमा स्वीकारे । पुरानो शैली, पुराना चरित्र र विफल नेतृत्वबाट अब देशले नयाँ दिशा पाउन नसक्ने भएकाले युवा पुस्ताको एकीकृत अभियान अपरिहार्य भएको निष्कर्ष निकाले ।

जेन्जी अभियन्ता विष्णु खड्काले मुलुकमा रहेको ‘गलत प्रणाली’ नै सबै समस्याको मूल कारण भएको बताएका थिए । उनका अनुसार, पात्रभन्दा प्रणालीकै कारण भ्रष्टाचार, अपराधीकरण र गुन्डा संस्कृतिलाई राज्य संरचनाले नै संरक्षण गर्ने प्रवृत्ति बढेको छ ।
“दण्डित हुनुपर्ने पात्रलाई उल्टै सम्मानित पदमा पुर्याइने, दलहरूले संरक्षण दिने र समाजलाई विकृतितर्फ धकेलिने वातावरण बनाइएको छ । यस्तो प्रवृत्ति रोक्न संविधान र राजनीतिक प्रणालीको पुनर्संरचना अब अपरिहार्य छ,” खड्काको भनाइ थियो ।
माओवादी नेता रणबीरले जेन्जी अभियानले उठाएका माग र आवाजहरू देशभक्त युवाहरूको वास्तविक चिन्ता रहेको उल्लेख गर्दै ती मागहरू माओवादी पार्टीका संघर्षशील एजेन्डासँग मेल खाने बताए । युवापुस्तालाई परिवर्तनको केन्द्रमा राख्दै अघि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ थियो ।
“देशको नयाँ दिशा युवाबाटै सम्भव छ । जेन्जीले उठाएका मुद्दाहरू हामी सबैका साझा मुद्दा हुन्, र यिनलाई सम्बोधन गर्दै अघि बढ्नु अहिलेको राजनीतिक आवश्यकता हो,” रणबीरले स्पष्ट पारे ।
भेटमा देशव्यापी सुधारका लागि निरन्तर संवाद, संयुक्त अभियान र युवा–केन्द्रित रणनीति अगाडि बढाउने प्रारम्भिक सहमति बनेको जनाइएको छ । धनगढीमा भएको यो भेटलाई सुदूरपश्चिममा बढ्दै गएको युवा राजनीतिक चेतनाको महत्वपूर्ण संकेतका रूपमा पनि हेरिएको छ ।













प्रतिक्रिया दिनुहोस्