२०८२ माघ १७ गते शुक्रवार

सुर्खेतमा पत्रकार आचार्यको निधन शंकास्पद भन्दै आफन्त आन्दोलनमा, मूलपानी चोक तनावग्रस्त



दुर्घटना सामान्य नभई योजनाबद्ध हुनसक्ने आशंका व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग राखेका छन्

सुर्खेतमा पत्रकार आचार्यको निधन शंकास्पद भन्दै आफन्त आन्दोलनमा, मूलपानी चोक तनावग्रस्त
कमल कुमार शाही
स्वाभिमान खबर, मंसिर १३
सुर्खेत — प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेशन म्यानेजर ३४ वर्षीय वीरेन्द्र आचार्यको स्कुटर दुर्घटनामा मृत्यु भएको घटनापछि सुर्खेतमा वातावरण तनावग्रस्त बनेको छ। आचार्यको मृत्यु ‘शंकास्पद’ भएको भन्दै उनका आफन्त र स्थानीयले मूलपानी चोकमा आन्दोलन गर्दै सडक अबरुद्ध पारेपछि सुर्खेत–जुम्ला सडकखण्ड केही समय अवरुद्ध भएको छ।

गएराति वीरेन्द्रनगर–२ नम्बर वडा कार्यालय अगाडिको सडकखण्डमा आचार्य सवार लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आइरहेको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा शुभकालिका गाउँपालिका–१ घर भई हाल वीरेन्द्रनगर–१ बस्ने आचार्य गम्भीर घाइते भएका थिए। उनीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइए पनि गएराति नै चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकल चालक २३ वर्षीय यामबहादुर शाही पनि घाइते भएका छन्।

मृतकका आफन्तले दुर्घटना सामान्य नभई योजनाबद्ध हुनसक्ने आशंका व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग राखेका छन्। उनीहरूले मूलपानी चोकमा टायर बालेर सडक अबरुद्ध गरेपछि त्यहाँ केही समय आवागमन पूर्णरूपमा रोकिएको थियो।

प्रहरीले तनाव नियन्त्रणमा लिन अतिरिक्त टोली खटाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनाको प्रकृति स्पष्ट पार्ने गरी अनुसन्धान सुरु गरिएको छ। साथै स्थानीय र आफन्तसँग संवाद गर्दै स्थिति सामान्य बनाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

आचार्यको असामयिक निधनप्रति पत्रकारिता क्षेत्र र सुर्खेतबासीले दुःख प्रकट गर्दै निष्पक्ष छानबिनमार्फत सत्यको खोजी हुनुपर्ने माग गरेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते शनिवार