२०८३ बैशाख ४ गते शुक्रवार

काभ्रेका १०३ विद्यार्थीलाई न्यानो जाकेट वितरण



काभ्रेका १०३ विद्यार्थीलाई न्यानो जाकेट वितरण
कमल कुमार शाही
स्वाभिमान खबर मंसिर ८
काभ्रे। चिसो बढ्दै गएसँगै काभ्रे भुम्लु–४ स्थित सेतिदेवी माध्यमिक विद्यालयका १०३ जना विद्यार्थीलाई न्यानो जाकेट वितरण गरिएको छ। शैक्षिक वातावरणमा चिसो मौसमको असर नपरोस् भन्ने उद्देश्यसहित गरिएको यस सहयोगले विद्यालयमा उत्साह र हर्षोल्लासको माहोल पैदा भएको छ।

विद्यालयका अनुसार तिमाल–२ काभ्रे निवासी तथा हाल युकेमा बसोबास गर्दै आएकी मीरा तामाङले न्यानो जाकेटका लागि आर्थिक सहयोग उपलब्ध गराएकी थिइन्। नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) निकट विद्यार्थी संगठन अखिल समाजवादी का केन्द्रिय अध्यक्ष नरेन्द्र सी महासचिव प्रकाश सी लगायत का विद्यार्थी नेताको उपस्थिति मा जाकेट वितरण भएको हो।

उनका अनुसार, “गाउँका विद्यार्थीहरूले चिसोमा पठन–पाठनमा असुविधा नहोस् भन्ने सोचले यो सहयोग गरिएको हो।”
जाकेट वितरण प्रक्रियामा क. नविन सीले समन्वयकर्ताको भूमिका निभाएका थिए। आफ्नो स्थानीय सम्बन्ध र पहलका कारण वितरण कार्य छिटो र सहज रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

स्थलगत समन्वय भने अखिल (समाजवादी) काभ्रेले गरेको थियो। संगठनका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई न्यानो लुगा प्राप्त भएपछि प्रेरणा मिल्ने र विद्यालय नियमिततामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

विद्यालय प्रशासनले सहयोगदाताप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता समाजसेवी तथा प्रवासी नेपालीको सहकार्यले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई थप सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ।
स्थानीय अभिभावकहरूले पनि बालबालिकालाई न्यानो जाकेट प्राप्त हुँदा अत्यन्तै खुसी व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, चिसो समयमा विद्यालय पुग्ने कठिनाइ कम भई सिकाइमा सहजता हुने विश्वास बढेको छ।

कार्यक्रमको अन्त्यमा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले मीरा तामाङ, क. नविन सी र समन्वयमा सहकार्य गर्ने सबै निकायलाई धन्यवाद व्यक्त गरेका थिए

कार्यक्रमका केही झलकहरू

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार