२०८३ साउन १२ गते मङ्गलवार

सौराई कप विजेता टिमलाई नेकपा बझाङका नेता जप्रेलद्वारा नगद सहित सम्मान



सौराई कप विजेता टिमलाई नेकपा बझाङका नेता जप्रेलद्वारा नगद सहित सम्मान

कमल कुमार शाही
स्वाभिमान खबर, असोज ३
काठमाण्डौँमा ।  सम्पन्न ‘शुभकामना तथा सौराई कप ०८२’ पुरुष भलिबल प्रतियोगितामा विजेता बनेको बझाङ—दुर्गाथली गाउँपालिकाको टिमलाई सुदूरपश्चिमका युवा नेता प्रकाश जप्रेलले विशेष सम्मान गरेका छन्।


नेकपा केन्द्रीय सदस्य तथा बझाङका युवा नेता एवम् अखिल समाजवादीका केन्द्रीय महासचिवसमेत रहेका जप्रेलले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको दुर्गाथली गाउँपालिका टिमलाई सोमबार सम्मान गरेका हुन्। उनले विजेता टिमलाई नगद २ हजार ५ सय रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हुन्।

बझाङ्गी समाज काठमाडौँले ललितपुरको जावलाखेलमा आयोजना गरेको पुरुष भलिबल प्रतियोगितामा दुर्गाथली गाउँपालिका टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि हात पारेको थियो। ११ टिम सहभागी प्रतियोगितामा फाइनल खेलमा उत्कृष्ट समन्वय, रक्षा र आक्रमण क्षमताका आधारमा दुर्गाथलीले विजय सुनिश्चित गरेको आयोजकले जनाएको छ।


सम्मान कार्यक्रममा बोल्दै नेता जप्रेलले दुर्गाथली गाउँपालिकाको टिमले खेलकुद क्षेत्रमा बझाङको पहिचान देशभर परिचित बनाउन भूमिका खेलेको उल्लेख गरे। “युवा खेलाडीको मेहनत, समर्पण र लगनले बझाङ्गको नाम चम्किएको छ। आगामी दिनमा पनि खेलकुदमा अझै ठूलो सफलता हासिल होस् भन्ने कामना गर्दै यो सम्मान प्रदान गरिएको हो,” उनले भने।

विजेता टिमका खेलाडीहरूले आफूहरूलाई प्रोत्साहन र हौसला प्रदान गरेको भन्दै युवा नेता जप्रेलप्रति आभार व्यक्त गरेका छन्। स्थानीय स्तरमा खेलकुद विकासका लागि सबै सरोकारवाला निकायले निरन्तर ध्यान पुर्‍याउनु पर्ने जनाएका खेलाडीहरूले सौराई कप २०८३मा अझै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य व्यक्त गरेका छन्।

बझाङ्गी समाज काठमाडौँले नियमित रूपमा आयोजना गर्दै आएको सौराई कप भलिबल प्रतियोगिता खेलकुदमार्फत बझाङ्गी युवाबीच एकता, उत्साह र सहकार्य बढाउने उद्देश्य रहेको देखिन्छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बुधवार