२०८३ असार ५ गते शुक्रवार

काठमाडौँमा बझाङ्गी जेन–जि एकताको शुभकामना तथा सम्मान समारोह सम्पन्न



काठमाडौँमा बझाङ्गी जेन–जि एकताको शुभकामना तथा सम्मान समारोह सम्पन्न

कमल कुमार शाही
स्वाभिमान खबर, असोज ३
काठमाडौँ । बझाङ्‌बाट काठमाडौँमा बसोबास गर्दै आएका बझाङ्गी जेन–जि युवाहरूले बुधबार राजधानीमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन् । बझाङ्गी जेन–जि एकता काठमाडौँद्वारा आयोजित कार्यक्रममा खेलकुदमा उल्लेख्य योगदान पुर्‍याउने खेलाडीदेखि सहिद परिवारसम्मलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा भलिबलका राष्ट्रिय खेलाडी सुरेश मल्ल, सौराई कपका उत्कृष्ट खेलाडी सरोज मिश्र, सौराई कपमा खेलाडी सहभागी गराउन भूमिका निभाउने व्यवस्थापक निशान मोर र उनको टोलीलाई सम्मानपत्रसहित सम्मान गरिएको आयोजकले बताए । त्यस्तै जिल्लाभित्र खेल्दै आएका तथा सौराई कपमा सहभागिता जनाएका पवन खड्कासहित दर्जनभन्दा बढी खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो ।

 

सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै आयोजकले कार्यक्रममा सहभागी सहिद परिवारका सदस्य नरेश धामीलाई पनि सम्मानपत्र प्रदान गरेको जनाएको छ । धामीले जेन–जि आन्दोलनका मागहरू अझै पूरा नभएको उल्लेख गर्दै, “न्याय र अधिकारका लागि जरुरी परे फेरि लड्न हामी तयार छौँ,” भन्दै संघर्ष जारी रहने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि असल क्षेत्रीले खेलकुद, युवा नेतृत्व र जेन–जि आन्दोलनका आवश्यकता तथा भूमिकाबारे बिस्तृत व्याख्या गरेका थिए । बिशिष्ट अतिथि कमल सीले जेन–जिलाई डिजिटल पुस्ता र परिवर्तनको अग्रदूतका रूपमा चिन्हित गर्दै आन्दोलनबारे भ्रम नफैलाउन सबैलाई अनुरोध गरे ।

कार्यक्रममा उपस्थिति जनाएका बिशिष्ट अतिथि काठमाडौँका विकास महर्जन र भरत रावलले युवा खेलाडहरुलाई थप हौसला र प्रेरणा दिए । कार्यक्रमको अध्यक्ष जेन–जि युवा राजेन्द्र जाले गरेका थिए भने कार्यक्रम सञ्चालन  राजेन्द्र भण्डारी ले गरेका थिए ।

आयोजकका अनुसार बझाङ्गी जेन–जि युवाको एकता, क्षमता अभिवृद्धि र सामाजिक योगदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम निरन्तर अघि बढाइनेछन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बुधवार