काठमाडौँ गोर्खाज २९ रनले पराजित, सुदूरपश्चिम रोयल्सको एनपिएल–२ मा धमाकेदार विजयी सुरुवात
कमल कुमार शाही
स्वाभिमान खबर, असोज ३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट सिजन–२ मा सुदूरपश्चिम रोयल्सले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ। बुधबार भएको रोमाञ्चक खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको हो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.५ ओभरमै अलआउट हुँदै १४७ रनमा समेटिएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको टोलीका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र हरमित सिंहले जिम्मेवारीपूर्ण पारी खेले।

हरमितले २० बलमा २ चौका र ६ छक्कासहित विस्फोटक ५३ रनको पारी खेले भने कप्तान दीपेन्द्रले ३९ रन जोडे। अन्य ब्याट्सम्यानले भने उल्लेख्य योगदान दिन नसक्दा टोली मध्यम योगफलमै सीमित हुनुपर्यो।

जवाफमा १४८ रनको लक्ष्यसहित मैदान उत्रिएको काठमाडौँ गोर्खाज १६.४ ओभरमै आलआउट हुँदै ११८ रनमै रोकियो। काठमाडौँका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रन बनाए भने जोन सिम्पसनले २४ रन जोडे। तर अन्य ब्याट्सम्यान सुदूरपश्चिमको कन्सिस्टेन्ट बलिङ अगाडि टिक्न सकेनन्।
सुदूरपश्चिमका बलरहरूले उत्कृष्ट लय कायम राख्दै काठमाडौँको विजयी यात्रा रोकिदिए।

हेमन्त धामी, हरमित सिंह र स्कट कुगेलेइजनले २–२ विकेट हात पारे भने नरेन साउद, इशान पाण्डे र अभिनास बोहोराले १–१ विकेट लिए।
बलिङतर्फ काठमाडौँ गोर्खाजका करण केसी सबैभन्दा सफल रहे। उनले ४ विकेट लिए भने सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २–२ विकेट ल्याए।

साविक विजेता जनकपुरलाई पहिलो खेलमै पराजित गर्दै प्रतियोगिताको उत्कृष्ट सुरुवात गरेको काठमाडौँ गोर्खाजको जीत यात्रा भने सुदूरपश्चिमसँगको दोस्रो खेलमै रोकिएको छ।
सुदूरपश्चिम रोयल्सले अब लिग चरणको अर्को खेलमा आत्मविश्वाससहित प्रवेश गर्ने जनाएको छ।














प्रतिक्रिया दिनुहोस्