२०८३ भाद्र २८ गते आइतवार

मध्यपश्चिम विश्वविद्यालय र फिनल्याण्ड दूतावासबीच आपसी सहकार्यका विषयमा छलफल



मध्यपश्चिम विश्वविद्यालय र फिनल्याण्ड दूतावासबीच आपसी सहकार्यका विषयमा छलफल
कमल कुमार शाही
स्वाभिमान खबर, कार्तिक २१,
मध्यपश्चिम विश्वविद्यालयमा आज फिनल्याण्डका नेपालस्थित महामहिम राजदूत पेट्री पुहक्काको टोली र विश्वविद्यालयका पदाधिकारीबीच महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमको अध्यक्षतामा सम्पन्न उक्त भेटवार्तामा दुबै पक्षबीच शैक्षिक सहकार्य र अनुभव आदान–प्रदानबारे विस्तृत छलफल गरिएको हो।
कार्यक्रमको सुरुवातमा उपकुलपति प्रा. डा. गौतमले राजदूत पुहक्कासहितको टोलीलाई हार्दिक स्वागत गर्दै फिनल्याण्डमा आफ्नो विगतको अध्ययन तथा बसाइँ अनुभवलाई सम्झँदै, विश्वविद्यालयबीच आपसी सहकार्य र साझेदारी विस्तार गर्न आफू उत्सुक रहेको बताउनुभयो। उहाँले फिनल्याण्डको शिक्षाप्रतिको व्यावहारिक दृष्टिकोण र नेपालको शैक्षिक संरचनामा त्यसका उपयुक्त पक्षहरू समायोजन गर्न सकिने सम्भावनाबारे पनि चर्चा गर्नुभयो।

नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत पेट्री पुहक्काले मध्यपश्चिम विश्वविद्यालय भ्रमण गर्न पाएको अवसरलाई विशेष बताउँदै, नेपालका विश्वविद्यालयहरूमध्ये पहिलोपटक यो विश्वविद्यालय भ्रमण गर्न पाउनु गौरवको विषय रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालमा शिक्षा सुधारका लागि फिनल्याण्ड दूतावासले चलाइरहेको “टेसेस परियोजना” अन्तर्गत मध्यपश्चिम विश्वविद्यालयसँगको सहकार्यलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गर्नुभयो।


फिनल्याण्डद्वारा सञ्चालित टेसेस परियोजनाले नेपालको शिक्षण प्रणालीमा गुणस्तर सुधार गर्ने उद्देश्य लिएको छ। यसअन्तर्गत प्रि-सर्भिस र इन-सर्भिस शिक्षक तालिम, शैक्षिक नेतृत्व विकास तथा विश्वविद्यालय–विद्यालयबीचको सम्बन्ध सुदृढीकरण जस्ता गतिविधि सञ्चालनमा छन्।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो भने अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवालीले विश्वविद्यालयको परिचय र हालका शैक्षिक उपलब्धिहरूबारे विस्तृत प्रस्तुति दिनुभयो।

भेटवार्तामा विभिन्न ग्र्याजुएट स्कुलका डीन, निर्देशनालयका कार्यकारी निर्देशक, विभागीय प्रमुख, संयोजक, कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गर्नुभएको थियो।
यो भेटवार्ताले मध्यपश्चिम विश्वविद्यालय र फिनल्याण्डबीच शैक्षिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते शनिवार