सुर्खेत राजस्व कार्यालयले गर्यो २ अर्बभन्दा बढी राजस्व संकलन
कमल कुमार शाही
स्वाभिमान खबर, भदौ २६, सुर्खेत
आन्तरिक राजस्व कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार सो वर्षमा जम्मा दुई अर्ब १४ करोड ४२ लाख रुपैयाँ राजस्व उठाइएको हो । यो तथ्यांक अघिल्लो वर्षको तुलनामा १.७३ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले एक अर्ब ८६ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयका प्रमुख कर अधिकृत डिल्लीराम पौडेलका अनुसार कर कानुनको पालना बढ्नु, कर दायरा विस्तार हुनु र बक्यौता असुली हुनु राजस्व वृद्धिका मुख्य कारण बनेका छन् ।
आयकर प्रमुख स्रोत
गत वर्ष सबैभन्दा बढी योगदान आयकरबाट भएको छ । आयकर शीर्षकमा मात्र एक अर्ब ३१ करोड ३२ लाख रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो वर्षभन्दा १५.०६ प्रतिशतले बढी हो ।
त्यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट)बाट ६८ करोड रुपैयाँ संकलन भएको छ । ब्याज करमा ३०.२० प्रतिशत र अन्तःशुल्कमा २२.८७ प्रतिशत वृद्धिको तथ्यांक सार्वजनिक गरिएको छ ।
घरबहाल करमा कमी
अधिकांश शीर्षकमा वृद्धि भए पनि घरबहाल करमा भने गिरावट आएको छ । सात करोड ४० लाख संकलन गर्ने लक्ष्य रहेकामा जम्मा चार करोड ३९ लाख मात्रै उठेको छ । जुन लक्ष्यको ५९.३९ प्रतिशत मात्र हो ।
लक्ष्य अधुरो
कर कार्यालयले गत वर्ष दुई अर्ब ४९ करोड ८६ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । तर जम्मा ८५.८२ प्रतिशत मात्र हासिल भएको कार्यालयको भनाइ छ ।
करदाताको संख्या बढ्दै
गत आर्थिक वर्षमा मात्रै १७ हजार ६७० नयाँ करदाता दर्ता भएका छन् । तीमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या १३ हजार ८५० रहेको छ ।
यस्तै ३२०३ नयाँ आयकरदाता, ४०४ भ्याट करदाता, ११५ अन्तःशुल्क करदाता र ६३ withholding प्यान दर्ता भएका छन् ।
प्यान अनिवार्य लागू भएसँगै करदाताको संख्या बढेको कार्यालयको भनाइ छ । आर्थिक गतिविधि बढ्दो सुर्खेतमा आगामी वर्ष अझै उच्च राजस्व संकलन हुने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्