भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निगमको निर्णय
कमल कुमार शाही
स्वाभिमान खबर, फागुन २८
काठमाडौँ — नेपाल आयल निगम लिमिटेडले भोलिदेखि एलपी ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापन गर्न नयाँ नियम लागू गर्ने भएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भोलि (मिति २०८२ चैत २९) देखि अर्को निर्णय नभएसम्म ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास मात्र भरी आधा मूल्यमा बिक्री वितरण गर्ने निर्णय गरिएको छ।
निगमका अनुसार पछिल्लो दुई–तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग अस्वाभाविक रूपमा बढेको देखिएको छ। यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी प्रभाव परेको निगमले जनाएको छ।
नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने देश भारतमा समेत उपभोक्ताले ग्यास पाउन समस्या देखिएको खबर सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर भण्डारण गर्ने प्रवृत्ति बढेको निगमको भनाइ छ।
यस्तो अवस्थालाई नियन्त्रण गर्दै उपलब्ध ग्यास सबै उपभोक्तासम्म पुर्याउने उद्देश्यले निगमले यो व्यवस्था लागू गरेको जनाएको छ। निर्णयअनुसार अब ग्यास उद्योगहरूले प्रति सिलिन्डर ७.१ केजी ग्यास भरेर करिब आधा मूल्य (रु ९५५) मा बिक्री वितरण गर्नेछन्।
निगमले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ। साथै आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको पनि निगमले जनाएको छ।
निगमको विज्ञप्ति।














प्रतिक्रिया दिनुहोस्